भगवती पाण्डे बुटवल, वैशाख
रुपन्देहीको देवदह ११ का हिरा कुँवर १८ वर्षका भए। बिहान र दिनभरी कापी कलम हुने उनको हातमा साँझको करिब ३ घण्टा औजार हुनेगर्छ।
दिनभर विद्यालयको पढाई र साँझ ग्यारेजमा मोटरसाईकल मर्मत। विगत पाँच वर्षदेखिको उनको दैनिकी हो।
जनप्रीय मावि देवदहबाट ०७० सालको एसएलसी परिक्षामा ५९ दशमलव ७२ प्रतिशत अंक ल्याएर पास भएका उनी उच्च शिक्षा अध्ययनका लागि १५ किलोमिटर बस यात्रा गरी हिरा उच्च मावि बुटवल पुग्ने गर्छन्।
१२ वर्षको उमेरदेखि ग्यारेजमा मोटरसाईकल मर्मतको काम शुरु गरेका हिरा पढाईमा पनि हिरानै छन्। परिवारको सल्लाह र अनुमति बिनै सानै उमेरबाटै मोटरसाईकल मर्मत गर्ने सिप सिक्न थालेका हिराले एसएलसीमा प्रथम श्रेणीका लागि २ नम्बर नपुग्दा पछुतो लागेको बताउँछन्।
‘घरमा बुवा आमाले काम गर्ने बेला अझै भएको छैन पढ् भन्दा मानिनँ एसएलसीमा प्रथम श्रेणी पुग्न २ नं. कम आएको सधै पछुतो लाग्ने गरेको छ,’ सेतोपाटीसँग कुरा गर्दै उनले भने।
कालिका उच्च माविमा व्यवस्थापन विषयमा प्लस टु गर्दै गरेका उनी कक्षा ११ को परीक्षामा राम्रै अंक लिएर पास भएका छन्। कक्षा १२ को चौथो दिनको परीक्षा दिएपछि ग्यारेजमा भेटिएका हिराले प्लस टु पछि माथि भने पढ्ने योजना नभएको बताए।
‘जति पढेपनि आखिर काम गर्ने र पैसा कमाउने नै हो प्लस टु भन्दा माथि नपढ्ने। अहिले सिप सिक्दै छु केही समयपछि आफ्नै ग्यारेज सञ्चालन गर्नुपर्ला,’ उनले भविश्यको योजना सुनाए।
देवदहकै एउटा मोटरसाईकल ग्यारेजमा काम गर्ने उनी विद्यालयबाट आएपछिको समय त्यही विताउँछन्। काममा जति सिपालु छन् ग्राहकको मन जित्न पनि उनि उत्तिकै सिपालु छन्। केही खराबी भएर ग्यारेजमा मोटरसाईकल पुग्ने वित्तिकै सोध्न पुगिहाल्छन्।
सुरूका दुईवर्ष निःशुल्क काम गरेका उनले अहिले भने मासिक चार हजार रुपैयाँ कमाउँछन्। उनले कमाएको चार हजार आफ्नो लागि खर्च गर्छन्। विद्यालयको शुल्क, बस भाडा, खाजा तथा कापी किताबमै खर्च गर्छन्।
‘शुरूमा भर्ना हुँदा लाग्ने रकम र कापी किताबको लागि नसकेपनि अन्य मासिक खर्च आफैं पुर्याउँछु,’ उनले भने।
बुवा प्रेम बहादुर कुँवर घर निर्माण गर्ने मिस्त्री हुन् भने आमा धनमायाँ पनि निर्माण मजदुर हुन्।
परिवारमा पढेलेखेको व्यक्ति नहुँदा उच्च शिक्षाको लागि के पढ्ने भन्ने सल्लाह नपाउँदा प्राविधीक क्षेत्रमा रूची भएपनि पढ्न नपाएको उनको गुनासो छ।
‘परिवारमा सल्लाह दिने कोहि थिएन साथी भाईको सल्लाहमा म्यानेजमेन्ट विषय छनोट गरेँ, प्राविधिक विषय पनि पढाई हुन्छ भन्ने थाहा भएको भए त्यही पढ्ने थिएँ,’ उनले भने।
कुनैपनि कामको आधारमा ठूलो सानो हुँदैन भन्ने उनले आफूजस्तै सबै युवालाई आत्मनिर्भरता र स्वरोजगारको बाटो अंगाल्न सुझाव दिन्छन्।
सेतोपाटिबाट