बुटवल, असोज १८
गुल्मीको रेसुङगा नगरपालिका वडा नं. १४ दुविचौरमा दिउसो भएको बस दुर्घटनामा परि ४ बर्षिय बालिका सहित ५ जनाको मृत्यु भएको छ । सोमबार विहान ८ बजे गुल्मीको तम्घासको लागि छुटेको लु. १ ख. ४१६१ नं. को यात्रु वाहक बस दिउसो करिब २ बजे दुर्घटनामा परेको थियो ।
दुर्घटनामा चालक सहित २४ जना घाईते भएको प्रहरीले जनाएको छ ।
बस दुर्घटनामा परि रेसुङगा नगरपालिकाका ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि रेसुङगा १५ का ४८ वर्षिय ताम बहादुर सुनार, रेसुङगा ६ का ५५ वर्षिय रोहित मरासिनी, रेसुङगा ८ का २५ वर्षिय करन चुदारा, रेसुङगा १५ का ४६ वर्षिय भिम कुमारी श्रीसको मृत्यु भएको छ ।
त्यसैगरी गुल्मीकै अर्लाङकोट गाविस ६ की ४ वर्षिय सिजन परियारको पनि सोहि दुर्घटनामा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरिक्ष्ँक प्रेम श्रेष्ठले जानकारी दिए ।
१२ जना यात्रु लिएर विहान ८ बजे बुटवलबाट तम्घासको लागि छुटेको उक्त बसले रिडीमा गएर थप यात्रु चढाएको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शी र घाईतेका अनुसार बस अत्यन्त तिव्र गतीमा रहेको कारण दुर्घटनामा परेको अनुमान गरिएपनि दुर्घटना हुनुको कारणबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
स्थानीय स्तरमा चल्ने जिपहरुले लोकल यात्रुहरुलाई नचढाउने गरेका कारण बुटवलबाट कम यात्रु लिएर गएको उक्त बसमा यात्रुहरु चढेको प्रहरीले जनाएको छ ।
बस दुर्घटनामा परेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय तम्घास, जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गएका सुरक्षाकर्मी र स्थानीयवाशीले घाईते र मृतकको उद्धार गरेका थिए ।
घाईते मध्ये टाउको र छातीमा चोट लागेका १० जनालाई थप उपचारको लागि पाल्पा पठाईएको र अन्य १४ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको प्रनानि श्रेष्ठले जानकारी दिए ।
पांच मिनेटको समयमा तम्घास पुग्नै लाग्दा बस दुर्घटनामा परेपछि घाईते तथा मृतकहरुको उद्धार गर्न सहज भएको थियो । बस सडकबाट ७० मिटर तल भिरमा रुखमा अड्किएको प्रहरीले जनाएको छ ।
बसका चालक पाल्पाका ३५ वर्षिय श्रीधर पाण्डेपनि घाईते रहेको र उनको तम्घासमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।