काठमाडौं, श्रावण ९ –
ठूला सार्वजनिक सवारी साधन किन्न चाहने कम्पनीले न्युन भन्सार दरमा आयात गर्न पाउने सुविधाका साथै बैंकबाट ऋण लिनसमेत सजिलो हुने भएको छ । बिहीबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७२/७३ मौद्रिक नीतिमा ठूला सहरहरूमा सार्वजनिक सहरी यातायात सेवा संचालन गर्ने संगठित संस्थालाई प्रदान गरिने कर्जालाई समेत उत्पादनशील क्षेत्र कर्जामा गणना गर्ने व्यवस्था गरेर बैंकहरुलाई प्रोत्साहन गरिएको छ ।
बैंक वित्तिय संस्थाले कुल कर्जाको २० प्रतिशत लगानी उत्पादनमूलक क्षेत्रमा गर्नै पर्ने व्यवस्था छ । बसलाई पनि यसमा राखिएपछि बैंकहरु लगानी गर्न उत्प्ररित हुने बुझाइ केन्द्रीय बैंकको छ । ‘बैंकहरु उत्प्रेरित भएर ब्याजदर वा सेवा शुल्कमा केहि सुहुलियत पनि दिन सक्छन,’ राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठले कान्तिपुरसित भने ।
गभर्नर नेपालले प्रस्तुत गरिएको मौद्रिक नीतिको वित्तीय क्षेत्र सुधारको नियमन तथा सुपरिवेक्षण अन्तरगत ७१ बुँदामा भनिएको छ,‘काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरू विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा सार्वजनिक शहरी यातायात सेवा संचालन गर्ने संगठित संस्थालाई प्रदान गरिने कर्जालाई समेत उत्पादनशील क्षेत्र कर्जामा गणना गर्ने व्यवस्था गरिने छ ।’
सरकारले सार्वजनिक यातायात सञ्चालनको क्षेत्रमा ठूला सवारी साधनलाई प्रोत्साहन दिदै ४० र सोभन्दा बढी सिटे सवारी साधनमा ५ प्रतिशतमात्र भन्सार महशुलमात्र लगाउने यस अघि नै घोषणा गरिसकेको छ ।
आर्थिक वर्ष २०७२/७३ को बजेट प्रस्तुत गर्दै मंगलबार अर्थमन्त्री डा. रामशरण महतले सार्वजनिक यातायात सञ्चालन गर्ने गरि दर्ता भएका सहकारी तथा कम्पनीले आयात गर्ने ४० र सोभन्दा बढी सिट क्षमता भएका सवारी साधनको आयातमा ५ प्रतिशतमात्र भन्सार महशुल लिने र त्यस्ता सवारी साधनमा अन्त:शुल्क र सडक मर्मत तथा सुधार दस्तुर छुट दिने व्यवस्था मिलाएको बताएका थिए ।
मुलुकका ठूला सडकमा बढी सिटे सवारी साधनलाई नै जोड दिन र व्यापारिहरूले एकपक्षीय रूपमा चलाउदै आएको सिन्डिकेटलाई चिर्न सरकारले पहिले बजेट र पछि मौद्रिक नीति मार्फत नयाँ अभियान थालेको हो । साथमा गृह मन्त्रालयले पनि व्यापरिको सिन्डिकेटलाई निरूत्साहित गर्न व्यक्ति वा समितिले जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्न नपाउने निर्णय गरिसकेको छ । मन्त्रालयले नाफा मुलक यातायात व्यवसाय कम्पनी रजिस्टार कार्यालयमै दर्ता गएर सञ्चालन गर्नु पर्ने जनाइसकेको छ । त्यसलाई लिएर व्यापारिहरूले विरोध जनाएका छन् । बजेट, मौद्रिक नीति र गृह मन्त्रालयको कदम सबैले ठूला सवारी सञ्चालनमा प्रोत्साहन गरेको छ ।
ईकान्तिपुर बाट