दिनेश पाण्डे
नेपालका अन्य कार्यालयहरु भन्दा बढि दक्ष प्राबिधिक जनशक्ति भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा छ । यस मँन्त्रालय मातहतका बिभिन्न कार्यालय र निकायहरुमा सवै भन्दा धेरै प्रबिधिक अर्थात ओभरसियर र ईन्जिनियरहरु छन् । सडक निर्माण र नियमित मर्मत सम्भारको काम हुने यो मन्त्रालयले नेपालमा करिब ३० हजार किलोमिटर सडक निर्माण गरेको छ ।
राष्ट्रिय महत्व र स्थानिय शहरी सडकको समेत निर्माण गर्दै आएको यस मन्त्रालय अन्तर्गतको सडक बिभाग र यसका प्राबिधिकहरुले गरेका त्रुटिहरुले सडक प्रयोगकर्ताहरुले सास्तीमात्र व्यहोरेका छैनन् ज्यान नै जोखिममा राख्न बाध्य छन् ।
नेपालका कतिपय सडकहरु भुगोलका कारणले असुरक्षित छन्, कतिपय चालकका कारणले जोखिममा छन् कतिपय निर्माणमा गरिएको कमजोरीका कारण जोखिममा छन् भने कतिपय सडकहरु डिजाईनमा गरिएको त्रुटी लापर्वाही काम चलाउ मानसिकता र कमजोरीका कारण जोखिममा देखिएका छन् ।
कुनै समय थियो सडक बन्दा प्रयोगकर्ताहरु खुसी हुन्थे अन्य कुनै चांसो राख्दैनथे । तर पछिल्लो समय बढ्दो दुर्घटनाका कारण नागरीकले सडक निर्माण र त्यसको डिजाईनमा समेत चासो राख्न थालेका छन् । सडक निर्माणमा संलग्न प्राबिधीक र अन्य सरोकारवालाहरु मात्र होईन सडक प्रयोगकर्ता र सडक सुरक्षामा काम गर्नेहरुको चासो र ध्यान सडक निर्माण देखि नै रहनु स्वभाविक छ ।
नेपालका त्यस्तै सडकहरु मध्ये काठमाण्डौको कोटेश्वर देखि सुर्यबिनायक सम्म र बुटवल देखि बेलहिया सम्मको सडक पछिल्लो पटक बनेका र बन्दै गरेका चर्चित सडकहरु हुन् । जापान सरकारले निर्माण गरि दिएको काठमाण्डौको उक्त १६ किलोमिटर सडकको मुख्य भाग निर्माण भई प्रयोगमा आईसकेको छ भने नेपाल सरकारले निर्माण गर्ने सर्विस लेन अझै बन्न सकेको छैन । त्यसैगरी अर्को चर्चित र महत्वपुर्ण मानिएको बुटवल बेलहिया सडक निर्माणाधिन अवस्थामा छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको राजमार्ग चौराह देखि गोलपार्क सम्मको सडक निर्माणका क्रममा गरिएको कमजोरी र लापर्वाहीको चर्चा सेलाउन नपाउदै सोहि सडकको बुटवल बेलहिया खण्डको अवस्था त्यस्तै दुर्दसापुर्ण हुने निश्चित देखिएको छ ।
निर्माण प्रारम्भ देखिनै स्थानियको अवरोधका कारण निर्माणमा ढिलाई भईरहेको यो सडकमा सरोकारवालाहरुको ध्यान नपुग्दा मात्र होईन यसको डिजाईनमै भएको कमजोरीले पटक पटक भत्कीने र डिजाईन परिवर्तन हुने भईरहेको छ । कहिले नाली सानो बनाउने त कहिले नालि निर्माणमा स्थानीयले गर्ने अवरोधले यो सडक सोचे जस्तो निर्माण हुनेमा पनि आशंका छ ।
जुन कल्पनाका साथ डिजाईन गरी स्केच सार्वजनीक भएको छ त्यसमा प्राबिधीकहरुले समेत लापर्वाहि गरेको प्रष्ट देखिन्छ । भन्दा र चित्रमा देखाए जस्तो सडकको कल्पना स्थानियको आंखा अगाडी छ तर त्यो अनुरुपमा सडक प्रयोगमा सुरक्षाका सामान्य सिद्धान्त पनि अपनाउन नसकेको देखिन्छ । पैदल यात्रीहरुका लागी फुटपाथ छुट्याईए पनि साईकल चालकहरु र शारिरिक रुपले अशक्तहरुका लागी कुनै स्थान तोकिएको पाईदैन ।
बुटवलको राजमार्ग चौराहदेखि बेलहिया सम्मको सडकमा गरिएको डिजाईन र त्यसको प्रयोजनमा सबैभन्दा जोखिम पुर्ण अवस्थामा सडकको दायां बायां निर्माण गरिन लागेको सर्बिस लेन रहेको छ । जुन सडक निर्माणमा देखिएको कमजोरी सडक किनारका बासिन्दाहरु आफ्नो घर पर्ने चिन्ताले बोल्न चाहदैनन भने सडक परियोजना आफ्नो कमजोरी देखिने भयले सुधार्न चाहदैन ।
परियोजनाका ईन्जिनीयर लिला भण्डारीका अनुसार यस अघि पनि सर्बिस लेन सांघुरो भएको भन्दै ५० ईन्च बढाईएको थियो । त्यसबेला मुख्य सडकको किनारमा रहेको हरियाली क्षेत्रको चौडाई घटाएर निर्माण थप गरिएको थियो ।
यसरी पटक पटक परिवर्तन गर्दा पनि अझै सडक सांघुरो र जोखिमपुर्ण हुन्छ भन्ने बुझ्न नसक्नु हाम्रा बिज्ञ प्राबिधीकहरुले गरेको सडकको डिजाईनमा हुने सबै भन्दा ठुलो त्रुटी नै हो । किनारमा रहेको हरियाली क्षेत्रलाई घटाएर अझैपनि सडक बढाउन सकिने अवस्था हुदाहुदै पनि आफ्नो कमजोरी लुकाउन सडक बिभाग सर्बिस लेनको चौडाई बढाउने कुरा उठाउन चाहन्न ।
यस सडकको दाया बाया निर्माण हुदै गरेको सर्बिस लेनको चौडाई ५ दशमलव ८ मिटर अर्थात १९ फुट छ भनिए पनि सडक किनारमा रहेको नाली र स्थानिय बासिन्दाले आफ्नो घरमा सवारी साधन पु¥याउन बनाईएका संरचनाले सडकको चौडाई घटेको छ । दुईतर्फि सवारी गुड्ने यो लेनमा ८ फुट चौडाईका दुईवटा सवारी साधन कसरी ओहोर दोहर गर्छन ? यसको जवाफ बेलहिया बुटवल व्यापारीक मार्ग परियोजना संग छैन ।
सामान्यतया बस र ट्रक निर्माण गर्दा त्यसको चौडाई ९६ ईन्च अर्थात ८ फुट हुन्छ । साधनमा जडान भएको ऐना र ढोकामा जडान भएको हेण्डलको चौडाई जोड्दा उक्त सवारी साधनको चौडाई कम्तिमा ६ ईन्च बढेको हुन्छ । करिब साढे ८ फुटको सवारी साधन जोडेरै राख्दा पनि १७ फुट हुन आउछ अब कसरी ती सवारी साधनहरु ओहोर दोहोर गर्लान ? जवाफ कठिन छ ।
सर्बिस लेनमा साना गाडी मात्र चलाउने भएकोले कुनै कठिनाई नहुने सडक बिभागका महानिर्देशक माधव कार्कीको तर्क छ । तर प्रयोगको दृष्टिले यात्रु ओसार्न प्रयोग हुने र हाल प्रयोग भईरहेका गाडिहरुको चौडाईको हिसावले उनको तर्कसंग सहमत हुन सकिने आधार कमजोर छ । यसखाले सांघुरो सडकमा जुन सुकै समयमा पनि सवारी साधन एक आपसमा जुध्ने खतरा भने रहि रहन्छ ।
सडक किनारमा रहेका बिद्युत पोल र नेपाल टेलिकमका अप्टीकल एक्सटेन्सन चेम्वरहरुले सडकलाई उत्तिकै जोखिमपुर्ण बनाएका छन् सडककै माथिल्लो भागमा देखिने ती चेम्बरहरु सडक प्रयोगकर्ताहरुका लागी सबैभन्दा जोखिमपुर्ण हुन् । सर्बिस लेनमा करिव १० ईन्च सडक माथी देखिएका ति चेम्वरहरुले सडक साघुरो मात्र बनाएका छैनन जुनसुकै बेला पनि सवारी चालकलाई ज्यानको निम्ता दिई रहेका छन् ।
सडक किनारका बासिन्दाले गर्ने सामान्य पार्किङका कारण सडक प्रयोगकर्ताले झेल्नु पर्ने सास्ति त छदै छ सडकको डिजाईनमै हुने कमजोरीले सडक यात्रा झनै असहज र असुरक्षित हुने निश्चित देखिन्छ । स्थानियहरु आफ्ना सवारी साधन पार्किङका लागी ठाउ छोड्ने भन्दा पनि सडकको किनारा कसरी मिच्न सकिन्छ भन्ने मै केन्द्रित हुने तथा परियोजना सकेसम्म बिवाद नआए हुन्थ्यो भन्नेमै बढी केन्द्रित हुंदा बहु चर्चित बुटवल बेलहिया सडक बिग्रदै गएको छ । असुरक्षित बन्दै गएको छ ।