बुटवल मंसिर १
तराई आन्दोलन र भारतको नाकाबन्दीका कारण मारमा परेका सर्वसाधारण पेट्रोलियम व्यवसायीको आन्दोलनका कारण झनै समस्यामा परेका छन्।
नाकाबन्दीसंगै ईन्धन आयातमा भएको कटौतीपछि नेपाल आयल निगमले आफुले माग गरे अनुरुपको तेल उपलब्ध नगराएको भन्दै रुपन्देहीका पेट्रोलियम व्यवसायीहरुले ईन्धन वितरण बन्द गरेका छन्। मधेश आन्दोलन र नाकाबन्दीका कारण मौलाएको ईन्धनको कालो बजारीलाई व्यवसायीहरुको आन्दोलनले झनै मलजल गरेको छ। तराई आन्दोलनका कारण सवारी साधन नचल्ने ग्रामिण क्षेत्रमा वितरण हुने ईन्धन कटौती गरी बजार क्षेत्रमा वितरण गर्ने आयल निगमको निर्णय विरुद्ध पेट्रोलियम व्यवसायीहरु विरोधमा उत्रिएका छन्। ईन्धनमा मनपरी गर्दै आएका व्यवसायीहरु केही समय यता मनपरी गर्न नपाएपछि विभाजित जस्तो देखिएपनि अहिले एकठाउँमा उभिएका छन्।
भारतको नाकाबन्दीसँगै स्थानीय प्रशासनले विगतको खपत र डिपोमा रहेको मौज्दात आधारमा ईन्धन वितरण गरेसँगै व्यवसायीहरु आयल निगम र प्रशासनले गरेको निर्णयको विरोधमा उत्रिएका हुन्। नाकाबन्दीका कारण चौतर्फी संकट भोग्न बाध्य सर्वसाधारणलाई व्यवसायीहरुको आन्दोलनले झनै सास्ती दिएको छ।
बिगतमा तेल चोरी काण्डमा समेत संलग्न भएर बदनामी कमाएका रुपन्देहीका तेल व्यवसायीहरुले मुलुक ईन्धनको संकटमा परेको समयमा आन्दोलनको नाटक गरेर उत्तेजित पार्ने काम गरेको सर्वसाधारणको भनाई छ। पेट्रोलियम व्यवसायीहरुले विगत तीन दिनदेखि ईन्धन वितरण नगर्दा यातायात व्यवसायीहरु त्यसको सबैभन्दा ठूलो मारमा परेका छन्। यात्रुलाई सवारी साधनको टिकट वितरण गरेका यातायात व्यवसायीले ईन्धन वितरण नभएपछि सवारी साधन संचालन गर्न नसकेको बताए।
पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले पेट्रोल पम्पहरुले ईन्धन वितरण बन्द गरेपछि यात्रुबाट टिकट फिर्ता लिनुपर्ने अवस्था आएको बताए। खरेलले संकटको समयमा यात्रुवाहक साधन र मालबाहक गाडीलाई पायक पर्ने स्थानबाट तेल वितरण गरी राहत दिनुपर्नेमा व्यवसायीहरुको आन्दोलनले सबैलाई निराश बनाएको बताए।
पेट्रोलियम व्यवसायीहरुले बजार क्षेत्रमा मात्र नभई ग्रामिण क्षेत्रका पेट्रोल पम्पहरुमा पनि आलोपालो ईन्धन उपलब्ध गराउनुपर्ने माग गरेका छन्। पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले लुम्बिनी, मर्चवार लगायतका क्षेत्रमा पनि विगतमा हुने खपतको आधारमा तेल उपलब्ध गराउनुपर्ने बताए।
तर नेपाल आयल निगमका पश्चिमाञ्चल डिपो प्रमुख दिनेश यादवले मर्चवार, लुम्बिनी क्षेत्रमा तराई आन्दोलन शुरु भएसँगै बन्द रहेको र अत्यावश्यक साधनको लागि दैनिक एक ट्यांकर डिजल उपलब्ध गराउँदै आएको बताए। उनले व्यवसायीहरुले मागे जसरी ईन्धन दिन नसकिने बताए।
मर्चवार, लुम्बिनी लगायत भारतसँग सिमा जोडिएका क्षेत्रहरुमा ईन्धन अभावसँगै ईन्धनको कालोबजारी दैनिक बढ्दै गएको छ। यस्तो अवस्थामा ति क्षेत्रहरुमा ईन्धन वितरण बढाउन भन्दै आन्दोलन गरिनुले व्यवसायीहरु नै कालोबजारीमा संलग्न छन् भन्ने पुष्टि गरेको छ। अध्यक्ष न्यौपानेले ईन्धनको कालोबजारी भएको स्वीकार गर्दै कालोबजारी रोक्ने प्रशासनको काम भएको बताए।
व्यवसायीहरुले ईन्धन बेच्न तयार हुँदाहुँदै पनि पेट्रोलियम डिलर्स एशोसिएसनका पदाधिकारीहरुले नबेच्न भन्दै सोमवार साँझ केही पम्प व्यवसायीहरुलाई धम्की समेत दिएको एक व्यवसायीले गुनासो गरे। व्यवसायीहरुले आफुहरुको माग र सिफारिस अनुसारका पम्पलाई ईन्धन उपलब्ध नगराउँदासम्म वितरण नगर्ने जनाएका छन्।
ईन्धन वितरणबाट विगतमा मिलीजुली मनपरी गरेका आयल निगमका कर्मचारी र व्यवसायीहरुको अहिलेको व्यवहार र आन्दोलन “मैले पिटेजस्तो गर्छु तँ रोएजस्तो गर” भन्ने नेपाली उखान जस्तै भएको र अन्तत यसले मधेश आन्दोलन र तेलको कालोबजारीलाई बढावा दिने निश्चित छ।