भगवती पाण्डे
बुटवल, असोज १९
दशैंका अवसरमा काठमाण्डौबाट बाहिरीने तथा पहाडी र ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनलाई पश्चिम नेपाल बस व्यवसायी संघले डिजेल उपलब्ध गराउने भएको छ ।
सवारी साधनको अभावमा दशैंमा गन्तव्यमा जाने यात्रुहरुलाई असुविधा नहोस् भनी संघले दशैमा काठमाण्डौबाट बाहिरीने र बुटवलबाट पहाडी तथा ग्रामिण क्षेत्रका लागि छुट्ने हरेक सवारी साधनलाई प्रति ट्रिप ५० लिटरको दरले डिजेल सहुलियत दिने भएको हो ।
संघका अध्यक्ष दधिराम खरेलले दशैंको समयमा काठमाण्डौ बाहिरिने र पहाडी तथा ग्रामिण क्षेत्रमा जाने यात्रुहरुको चाप धेरै हुने भएपनि काठमाण्डौ जाने र पहाडी क्षेत्रबाट बाहिरीने यात्रुहरुको संख्या न्यून हुने भएकोले सवारी साधनको खर्च व्यवस्थापनको लागि डिजेल उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।
“विगतका वर्षहरुमा दशैंको समयमा एकतर्फी रुपमा यात्रुहरुको चाप देखिएकोले एकतर्फी यात्रु बोक्दा सवारी धनीलाई आर्थिक भार पर्ने र त्यो भार संघले पनि वहन गर्नुपर्छ भन्ने मान्यताका साथ यस्तो निर्णय गरिएको हो ।”उनले भने ।
त्यो संगै संघले सवारी साधनको ट्रिप शुल्कलाई समेत व्यवसायीलाई राहत हुने गरी व्यवस्थापन गरिएको अध्यक्ष खरेलले जानकारी दिए । संघले बुटवलबाट बाहिरीने यात्रुहरुका लागि समेत अग्रिम टिकट बुकिङको ब्यवस्था मिलाएको जनाएको छ ।
अध्यक्ष खरेलले दशैका यात्रुको चापलाई ध्यान दिदै बिभिन्न बस टर्मिनलहरुमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको र शारिरीक रुपले अशक्त र बृद्धबृद्धाहरुको लागि यात्रु सहायता कक्षबाटै टिकट दिने व्यवस्था मिलाईएको बताए ।
यात्रुहरुको अत्यन्त चाप हुने क्षेत्रमा यात्रुहरुको संख्याको आधारमा सवारी साधन थप गरिने र सवारी साधनको अभावमा गन्तव्यमा पुग्न सकिएन भन्ने अवस्था आउन नदिने गरी सवारी साधनको व्यवस्थापन गरिएको उनले दावी गरे ।
देशका विभिन्न क्षेत्रमा चल्ने करिब २५ सय बस आवद्ध रहेको संघले एकैपटकमा एकलाख बढी यात्रुलाई बोक्न सक्ने क्षमता रहेको संघका महासचिव जिवन कुमार बञ्जाडेको दावी छ ।
बञ्जाडेले हाल दैनिक १५ सयको हाराहारीमा सवारी साधन चल्ने र १ हजारको संख्यामा होल्ड बस्ने भएकोले ति सबै सवारी साधनलाई दशैंमा परिचालन गरिने बताए । काठमाण्डौबाट बाहिरीनको लागि मात्रै दैनिक क्यूका बाहेक ६० वटा बस बसपार्कमा स्ट्याण्डवाई रहेको उनले जानकारी दिए ।
विहीबार र शुक्रवार सवारी साधनको माग सबैभन्दा धेरै भएको र त्यसमा पनि गुल्मीको लागि रहेको उनले बताए । बञ्जाडेका अनुसार अन्य दिनभन्दा दैनिक ३० वटा बस गुल्मीका लागि मात्रै थप गरिएका छन् ।
यातायात व्यवसायीहरुको सबैभन्दा ठूलो संस्थाको रुपमा रहेको पश्चिम नेपाल बस व्यवसायी संघले दशैं तथा विशेष परिस्थीतीको बेला व्यवसायीलाई राहत उपलब्ध गराएर भएपनि सवारी साधन परिचालन गराउंदै आएको छ ।
संघले यात्रुहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै १६ बर्ष भन्दा पुराना सवारी साधनलाई विस्थापन गर्ने निती अनुरुप ०५७ सालदेखि हालसम्म १८ सय पुराना सवारी साधन विस्थापन गरेको जनाएको छ ।
पछिल्लो पटक सबैभन्दा बढि यात्रुको चाप रहेको बुटवल बेलहिया सडक खण्डबाट मात्रै ७३ वटा मिनी माईक्रो बस विस्थापन गरेको जनाएको छ । पुरानो सवारी विस्थापन गरी नयां सवारी ल्याउन चाहने व्यवसायीलाई प्रति सवारी साधन ६ लाख रुपैया सम्म राहत उपलब्ध गराउंदै आएको छ ।