बुटवल असोज २५
सबैले दशैं मानेजस्तै यातायात व्यवसायी तथा सवारी चालक तथा मजदुरहरुले पनि दशैं मान्ने भएपछि आज सडकमा सार्वजनिक सवारीका साधनहरु छिटफुट रुपमा मात्र संचालनमा आए । जसका कारण दशैंको टिका थाप्न जाने सर्वसाधारणलाई सास्ती भयो ।
यातायात व्यवसायीहरुले दशैं मान्ने भन्दै सवारी साधनको क्यू फ्रि गरेका कारण टिका थाप्न जाने सर्व साधारणले प्रयाप्त सवारी साधन पाउन सकेनन् ।
सवारी साधन प्रयाप्त नभएका कारण हिडेरै टिका थाप्न जाने गरेको पाईएको थियो । सवारी साधनका मजदुरहरुले पनि दशैं मनाउने हुंदा सवारी साधन चलाउन बाध्य पारीदैन ।
छोटो दुरीमा छिटफुट रुपमा सवारी साधन चलेको भएपनि लामो दुरीमा चल्ने सवारी साधन भने खासै चलेनन् । निजी सवारी साधन भएकाहरु आफ्नो सवारीमा कोचिएर तथा मोटर साईकलमा ३÷४ जना सम्म चढेर टिका थाप्न जाने गरेको पाईएको थियो ।
त्यस्तै सर्वसाधारणहरु बाटोमा सवारी साधन पर्खिएर बसेका देखिन्थे । बस स्टपहरुमा घण्टौं पर्खिएर पनि सवारी साधन नपाएका सर्वसाधारण निराश बन्दै सवारी साधन पर्खिएर बसेका देखिन्थे ।
धेरै यात्रुहरुका विचमा आउने एकदुई सवारी साधनमा यात्रुहरु कोचिएर भएपनि आफन्तकहां जान बाध्य भएका थिए ।
ग्रामिण क्षेत्रतर्फ चल्ने जिप तथा बसहरुले छतमा र पछाडी समेत कोचाकोच पारेर सर्वसाधारणलाई बोकेका देखिन्थे ।
टिका लगाउन जानै पर्ने र सवारी साधन प्रयाप्त नपाएपछि यात्रुहरुपनि जोखिम मोलेर भएपनि यात्रा गर्न बाध्य भएका थिए । यता पछिल्लो समय बुटवलमा भित्रिएको विद्युतिय रिक्साको माग आज निकै रह्यो ।
सर्वसाधारण विद्युतिय रिक्सामा ७÷८ जनासम्म कोचिएर दशैंको टिका थाप्न हिंडेका देखिन्थे । सांझपख फाट्टफुट्ट रुपमा माईक्रो बस संचालन भएपनि दिउसो खासै बस संचालन नभएपछि नजिकैका यात्रुहरु म्यानुअल रिक्सा र विद्युतिय रिक्साकै भरमा यात्रा गरेका थिए ।