सवारी चालक अनुमतिपत्र नविकरण गर्ने चालकले आइतबारबाट स्मार्ट लाइसेन्स पाउने भएका छन्। यातायात व्यवस्था विभागले बाग्मती अञ्चलमा मंसिर २० गतेबाट नै नयाँ सवारी चलाक अनुमति पत्र लिने चालकलाई स्मार्ट लाइसेन्स वितरण गरिरहेको छ।
विभागले बारम्बार चाँडै नविकरण र प्रतिलिपी लिने सवारी चालकलाई स्मार्टलाइसेन्स वितरण गर्ने भने पनि हालसम्म गरेको थिएन। अन्ततः आइतबारबाट भने यो प्रक्रिया सुरु गर्न खोजेको हो।
विभागका महानिर्देशन चन्द्रमान श्रेष्ठका अनुसार आइतबारदेखि बाग्मती अञ्चल यातायात कार्यालयबाट नविकरण गर्दा स्मार्ट लाइसेन्स पाउने छन्। नविकरण गर्नेले स्मार्ट लाइसेन्स पाएपनि प्रतिलिपी लिनेले भने केही समय अझै कुर्नुपर्ने श्रेष्ठले बताए। त्यस्तै विभागले फागुन २ गतेदेखि नै वर्ग थपमा समेत स्मार्टलाइसेन्स वितरण सुरु गरेको श्रेष्ठले सेतोपाटीलाई बताए।
यसअघि विभागले कहिले प्राविधिक र कहिले लोडसेडिङको समस्याले नविकरण र प्रतिलिपी गर्ने चालकलाई स्मार्ट लाइसेन्स वितरण गर्न असहज भएको बताउँदै आएको थियो। विभागले अब स्मार्ट लाइसेन्स वितरणमा कुनै पनि प्राविधिक समस्या नरहेको भएपनि प्रिन्टरको समस्या भने यथावत रहेको जनाएको छ।
विभागले यसअघि नै लाहान पठाएको लाइसेन्स प्रिन्ट गर्ने मेसिन पनि उपत्यका ल्याउने तयारी गरेको जनाएको छ। श्रेष्ठका अनुसार आजभोलिमा त्यो मेसिन आउने र नआएमा लाहान कार्यालयलाई विभागीय कारबाही गरिनेछ। साथै विभागले फागुनको अन्त्य तिरबाट गण्डकी अञ्चलबाट पनि नयाँ लाइसेन्स लिने सवारी चालकलाई स्मार्ट लाइसेन्स वितरण गर्ने जनाएको छ। त्यसपछि विभागले क्रमशः लुम्बिनी हुँदै देशव्यापी स्मार्ट लाइसेन्स वितरण गर्दै लैजाने जनाएको छ।
सेतोपाटी बाट