मंसिर १ ताइपेइ –
ताइवानको ताइपेइमा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल रेसिङ एसिया कप रोड रेस २०१५ मा नेपाली राइडर प्रत्युस कुँइकेल र विवेश श्रेष्ठले सहभागिता जनाएका छन् । नोभेम्बर १५ मा सम्पन्न फाइनल राउन्डमा ताइबानका राइडर प्रथम, जापानका राइडर दोस्रो र श्रीलंकाका राइडर तेस्रो भएका छन् । नेपाली राइडरहरुको पर्फमेन्स उत्कृष्ट भएको र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागिता जनाउनु निकै नै उत्साहप्रद रहेको धेरैले प्रतिक्रिया दिएका थिए ।
उक्त अवसरमा नेपाल ताइवान एसोसिएसनका संस्थापक अध्यक्ष मृगेन्द्रराज देवकोटाले नेपाली राइडरहरुलाई रेसिङ कोर्टमै पुगेर सफलताको शुभकामना प्रदान गरेका थिए । एसोसिएसनका अन्य सदस्यले समेत कोर्टमै भव्य स्वागत गरेको नासा अफिसियल उपेन्द्र प्याकुरेलले बताए । नेपाली राइडरहरुलाई प्रदान गरेको स्वागत र शुभकामना आदानप्रदान देखेर चाइनिज ताइपेइ मोटर स्पोर्ट्स एसोसिएसन (सिटिएमएएस) का अध्यक्ष क्वङ–विङ. येङ र सिटिएमएएस परिवार समेत अचम्मित भएका थिए ।
वेलकम पार्टीमा नासाका राइडरहरुले डा. येङलाई बुद्धको काठको मुर्ति प्रदान गरेका थिए भने उनलाई खादा ओढाएर स्वागत समेत गरेका थिए ।सम्पूर्ण नेपालीहरुले नेपालकै दोस्रो ठुलो चाड तिहार मनाइरहेको समयमा २ जना मोटरसाइकल राइडरहरु भने Asia Cup of Road Race – 2015 को लागि गत कार्तिक २५ गते चाइनिज ताइपेइ (ताइवान) प्रस्थान गरेका थिए ।
२५० सिसीको उक्त बाइक रेसिङका लागि राइडरहरु प्रत्युस कुँइकेल र विवेश श्रेष्ठ तथा अफिसियल उपेन्द्र प्याकुरेललाई नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) का पदाधिकारीहरुद्वारा राष्ट्रिय खेलकुद परिषदबाट कार्तिक २५ गते बिदाइ गरिएको थियो । बिदाइ कार्यक्रममा नासा र राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरुको उपस्थिति थियो ।
मोटरसाइक्लिङको अन्तर्राष्ट्रिय महासंघ Federation International De Motocyclism (FIM) को आधिकारिक प्रतियोगितामा नेपाली युवा राइडरको सहभागिताले क्रमशः नेपाली राइडरहरुको पनि अन्तर्राष्ट्रिय पहिचान र स्तर वृद्धि हुने कुरामा नासाले विश्वास लिएको बताइएको छ ।