अध्यक्ष दधिराम खरेलद्धारा प्रस्तुत मन्तब्य
बिश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको पावन भूमी लुम्विनी लाई केन्द्र बिन्दु मानेर देशका सडक बिस्तार भएका १३ वटै अंचलमा यात्रु बाहक सार्वजनीक सवारी साधन संचालन गरी बिशिष्ठ पहिचान बनाउन सफल यस पश्चिम नेपाल बस व्यवसायी संघको २१ औं बार्षिक साधारण सभामा हाम्रो निमन्त्रणालाई स्वीकार गरि पाल्नु हुने बिशिष्ठ अतिथी ज्यू, मञ्चमा आसीन अतिथी ज्यूहरु पूर्व अध्यक्ष ज्यूहरु,राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने नेतागण, बिभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिज्यूहरु,पत्रकार बन्धुहरु तथा मेरा सहकर्मी कार्यकारिणी समितीका पदाधिकारी,सदस्य, सल्लाहकार एवं ब्यबसायी साथीहरुमा मेरो व्यक्तिगत एवं संघको तर्फबाट हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु ।
मुलुकको हरेक परिवर्तनको लडाईमा आफ्नो जीवन उत्सर्ग गरी हामीलाई स्वतन्त्रता पूर्वक वाच्ने अवसर प्रदान गर्ने महान सहिदहरु एवं व्यवसाय संचालनका शिलशिलामा तथा यात्राका क्रममा निधन भएका यातायात व्यवसायी, मजदुर एवं यात्रुहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । २०२६ सालमा यत्रतत्र छरिएका व्यवसायीलाइ एकताबद्ध गरी संघलाई यस अवधीसम्म आइपुग्न अहोरात्र खट्ने संस्थापक ज्युहरु जसले आजसम्म पनि व्यवसायीक बाटोमा हिड्न प्रेरणा एवं उर्जा प्रदान गरि रहनु भएको छ उहाहरु प्रति कृतज्ञता व्यक्त गर्दछु ।
प्रमुख अतिथी ज्यू
संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान २०७२ जारी गर्ने प्रक्रिया संगै उत्पन्न असहज परिस्थीतीका कारण बिभिन्न आन्दोलनका नाममा सेवा सञ्चालनको अवरोध सहनु परेको यथार्थता हाम्रा सामु छ । नेपाली जनताको लामो प्रतिक्षा एवं बलीदानी संघर्षबाट प्राप्त संविधानको सफल कार्यान्वयनमा बाधा पुग्ने तथा मुलुकको समृद्धीको बाटो नै बन्द हुने तहका आन्दोलनले यातायात व्यवसायी धरासायी हुने होइन मात्र होईन महान जनआन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने र मुलकको अश्थित्व नै संकटमा पर्ने हो कि भन्ने चिन्ता थपिएको छ । यसर्थ म यस सम्मानित सभा मार्फत जारी भएको संविधानको कार्यान्वय, सम्बर्धन एवं जनताका भावनालाई सम्वोधन गर्न सरोकारवाला पक्षलाई आग्रह गर्दै सबै राजनीतिक दललाई एकमना एकताका साथ लागि सुन्दर शान्त र एकीकृत नेपाल निर्माण गर्न सबै व्यवसायीको तर्फबाट आग्रह गर्न चाहन्छु । यसका साथै संविधान सभाले आश्वीन ३ गते ऐतिहासिक रुपमा संबिधान जारी गरे पछि शान्तिको अपेक्षा सहित उत्साहित यातायात क्षेत्रले मधेश आन्दोलन र भारतबाट लगाइएको अघोषित नाकाबन्दीका कारण आहात बन्नु परेको यथार्थता हाम्रा सामु छ । सिमित मात्रामा प्राप्त इन्धनका कारण यस संघले आफ्नो सेवा प्रवाहलाई ४० देखि ६० प्रतिसत सम्म कटाई सवारीका साधन चलाएको व्यहोरा अनुरोध छ । ईन्धनको संकटलाई यथोचित व्यवस्थापन गर्ने कार्यमा हर सम्भव प्रयतन गर्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकाल प्रति यातायात व्यवसायीहरु आभार ब्यक्त गर्दछन सम्मान व्यक्त गर्दछन ।
हामी यातायात व्यवसायी करोडौ लगानी गरेको भएपनि आफ्नो व्यवसायको प्रवद्धनकालागी जसरीपनिसम्पत्ती कमाउने मात्र धेय नभै जनताको चाहना बमोजिमका स्तरीय सवारीका साधन संचालनका लागी समर्पित छौं । यद्यपी अन्य व्यवसाय सरह निर्वाध रुपमा सेवा संचालन गर्दा वेला वखत हुने विविध किसिमका आन्दोलनका कारण अवरोध हुने गरेको छ । पंचायती निरंकुशताका विरुद्धको आन्दोलन होस् वा प्रजातन्त्र पूर्नवहालीका लागि भएको २०४६ को आन्दोलन वा गणतन्त्र स्थापनार्थ २०६२÷०६३ मा भएको बृहद जनआन्दोलन २ किन नहोस् यातायात व्यवसायीले आफ्नो व्यवसायलाई थाती राखी सहयोग र समर्थन तथा सहभागीता जनाउदै आएका छन् । तर जुन सुकै आन्दोलनलाई प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पु¥याई रहेको भए पनि हरेक परिवर्तन र शान्ति प्रक्रिया पछि समेत पहिलो प्रहार याताात व्यवसायी हुने गरेका छन् । आन्दोलनका सहयात्री बनेर व्यवसाय बन्द गरे पनि यातायात क्षेत्रलाई हेर्ने राजनितीक नेतृत्वको सकारात्मक दृष्टीकोणको अभावमा यातायात व्यवसायी आफ्नो पेशाबाट पलायन हुनुपर्ने स्थितीको सिर्जना भएको छ । तसर्थ सम्पूर्ण राजनीतिक पार्टीका नेतागण एवं नागरिक समाजका अगुवालाई यातायात क्षेत्रको अवगुण मात्र नहेरी यस क्षेत्रको पिडा व्यथा एवं बस्तुगत अवस्थाको यथार्थ बिश्लेषण र अध्ययन गरी निर्णय लिन आग्रह गर्दछु ।
प्रमुख अतिथी एवं अतिथी ज्यूहरु
छरिएर रहेको पूंजीलाई एकत्रीत गरी एकै प्रकृतीका व्यक्ति सम्मीलीत भै सवैले मिलिजुली गरी व्यवसाय संचालन गर्नु राज्यले अंगीकार गरेका सहभागीता र सहकारीताको सिद्धान्त अनुरुप चल्दा पनि विभिन्न किसिमको आरोप प्रत्यारोप हुनु आफैमा उदेक लाग्दो छ । नेपाल सरकारले तोकेबमोजिमको मूल्यमा इन्धन खरिद गर्ने एवं राज्यले निर्धारण गरेको भाडा लिने तथा राज्यबाटै अनुमति पाएको रुटमा व्यवसायीहरु मिली आलोपालोमा बस संचालन गर्नु सिन्डीकेट नभै सहकारिता हो जसरी न्यून आए भएका व्यक्तिहरु मिली आपसमा वचत संकलन गरी अन्य आर्जनका लागि एक आपसमा पालो गरी सहयोग लिने दिने हुन्छ । त्यसै गरी हामीले यो संघलाई संचालन गरेका छौं, सिन्डीकेट एकाधिकार हो । तर हामी एकाधिकारवादी होइनौ भन्ने प्रमाण सरकारले आफै लुम्बिनी अंचल भित्र मात्र एक दर्जन यातायात व्यवसायी संस्था दर्ता गरी संचालन अनुमति दिएबाट प्रष्टीन्छ ।
यातायात क्षेत्र यस्तो क्षेत्र हो जुन क्षेत्रले राज्यलाई अग्रीम कर बुझाउछ, जहा नेपाली ब्यवसायीको मात्र लगानी छ र नेपालीका लागी रोजगारीको अवसर श्रृजना भएको छ । मुलुकको ठुलो रोजगारी समस्या समाधन गर्न सफल यातायात क्षेत्रमा स्वरोजगार मजदुरहरुको संख्या उल्लेखनिय छ र यस्तो क्षेत्रमा लागेका व्यवसायी ब्यवसाय बाट बिस्थापित हुन नपरोस भनेर ब्यबस्थीत ढंगले सवारी साधन चलाएका हौं अस्वस्थ प्रतिस्पर्धा नहोस भनेर ब्यबस्थापन गरेका हौं । कारणबस सडक दुर्घटना हुदा यात्रु वा तेश्रो पक्षले कहा उपचार खोज्ने ? कहा न्याय खोज्ने ? कहा क्षतीपुर्ति खोज्ने ? जस्ता समस्या नआउन भनेर स्वयम पिडीत पक्षलाई न्याय उपचार र राहत दिन सामुहिक ब्यबस्थापन को निती अवलम्वन गरेका हौं । कुनै पनी तेश्रो पक्षले अहिले उपचार वा राहत नदिएर गाडिवाला भाग्यो भन्ने अवस्था आएको छैन । कतिपय दुर्घटनामा गाडिको मुल्य भन्दा कयौं गुणा बढी खर्च उपचारमा खर्च भएको छ । यदि संस्थागत नभएको भए त्यो उपचार एउटा गाडी धनी बाट उपचार सम्भव पनि देखिदैन पिडित परिवारको असिमीत माग पुरा गर्न पनि एक जना ब्यबसायी बाट सम्भव पनि छैन, उपचारका लागी बिमाले दिने बिमा रकमले कतीपय दुर्घटनाका घाईतेको उपाचार होईन उद्धारमा खर्च भएको छ । कतिपय दुर्घटनाका घाईते बचाउन हेलीकप्टर चार्टर गर्नु परेको छ । ब्यक्तिले भए त्यो कसरी सम्भव हुन्थ्यो होला ? । यसको ज्वलन्त उदाहरण यस संघ मातहत संचालित लु.१.ख.६१४१ नं. बसको मिति ०७२।६।१८ को दुर्घटनालाई लिन सकिन्छ । जुन घटनामा ५ जनाको मृत्यु हुनुका साथै २३ जना घाईते भएकोमा एक जना घाईते नवराज सुवेदीको मात्र उपचार खर्च रु.४०,००,०००।–(अक्षरुपी चालिस लाख रुपैयाँ) भन्दा बढी भैसकेको छ भने अझै उपचार बाकि रहेकोले थप रकम कति खर्च हुने हो अनुमान लगाउन सकिने अवस्था छैन । यदि व्यक्तिगत रुपमा उपचार गर्नु परेको भए व्यवसायीको अवस्था के हुने थियो, सबैले मनन गर्नै पर्छ । बिमा बाट पाउने दुईलाख पचास हजार रुपया उपचार रकमले कसरी घाईतेहरुको उपचार गर्न सकिएला ? हाम्रो देशका सडक त्यती सुरक्षित छैनन्, त्यस माथी यात्रु चढाउने र नाफा कमाउने होडमा तछाड मछाड गरी साधन दौडाउदा दुर्घटना हुन्छ । त्यस्तो अवस्थामा एउटा व्यवसायीले व्यक्तिगत किसिमले दुर्घटना किनारा लगाउन सबै अवस्थामा असंभव प्रायः छ । यसर्थ अरु क्षेत्रका ब्यबसायी संगठीत हुदा सिण्डीकेट नदेख्ने तर राज्यले निर्दिष्ठ गरेको निती नियम र निर्देशन बमोजिम यातायात सेवा सञ्चालन गर्ने तथा सरकारले तोके बमोजिमको भाडा लिने गरेका यातायात ब्यबसायी संगठित हुदा सिण्डीकेट देख्ने हाम्रो राज्य र समाजकै दृष्टीकोण दोषी छ ।
यसरी राज्यले गर्नु पर्ने काम र संरक्षण व्यवसायीहरुले आफैले ब्यबस्थीत ढंगले यातायात सेवा सञ्चालन गरी रहेकोलाई सिण्डीकेटको आरोप लगाई खुल्ला प्रतिस्पर्धाको खोक्रो नारा दिएर अर्को समानन्तर संस्था जन्माउनु सिण्डीकेटको अन्त्य पनि होईन र हुन सक्दैन । निजी क्षेत्रको मात्र अरर्वौंको लगानी रहेका कारण यातायात क्षेत्र संरक्षण बिहिन बनेको हो भन्ने हामी यातायात ब्यवसायीहरुरुको बिश्लेषण हो । राज्यले हामीलाई अभिभावकत्व प्रदान गर्न सकेको छैन आफुले निर्वाह गर्नु पर्ने जिम्मेवारी र दायित्व निर्वाह गर्न नसक्ने तर व्यवसायीहरुलाई दोष थुपारेर आफु पन्छिन खोज्नु राज्यको सवै भन्दा ठुलो कमजोरी र गैर जिम्मेवारीपन हो ।
प्रमुख अतिथी ज्यू,
देश विश्व व्यापार संगठनको सदस्य भै सकेको छ । यसको अर्थ नेपालको व्यापार निर्वाध रुपमा विश्वभर हुन पाउने तथा वैदेशिक व्यापार नेपालमा तर हामी सँग उत्पादन हुने वस्तुको हैसियत के छ ? यहाँका उत्पादनले विश्व स्तरमा फैलिएका वस्तु राष्ट्रिय कम्पनी सँग प्रतिस्प्रर्धा गर्न सक्छन् कि सक्दैनन् ? त्यसको लेखाजोखा हुनु आवश्यक छ । पछिल्लो तथ्याङ्क अनुसार हाल नेपालमा रहेको राजमार्गहरुको दुरी ६५ सय किलोमिटर सहरी तथा ग्रामीण सडक ४३ हजार पांच सय किलोमिटरको सेरोफेरो छ । यसमा गुड्ने बस तथा मिनीबसको संख्या ४९ हजार बढी छ भने ट्रक मिनी ट्रकको संख्या ५६ हजार ३ सय छत्तिस छ भने मोटरसाइकल लगायताका साना साधनको संख्या १५ लाख गरी नेपालमा जम्मा १९ लाख ५८ हजार ८ सय ४९ भन्दाबढी देखिन्छ । यस्तो अवस्थामा सबै साधनलाई एकै पटक बाटोमा ल्याउने अवस्था सृजना भयो भने साधनहरु चल्न सक्ने अवस्था रहन्छ कि रहदैन साथै विदेशमा निर्मित यातायात साधन खरिदमा वर्षेनी ठूलो धनराशी विदेशिनु देशका लागि कति फलदायी हुन्छ, मन्थन गर्नु पर्ने वेला आएको छ । त्यस कारण हामीले उठाउदै आएको एक विस्थापीत एक स्थापितको नीतिलाई कानुन वनाई लागू गर्नसके सवारी साधनको अनाबश्यक आयत रोकिन गई नेपालीपुञ्जी वाहिरीनबाट नियन्त्रीत हुने निश्चित छ भने सवारी साधनको व्यवस्थापनमा सहजता आउने कुरालाई कसैको दुईमत हुन सक्दैन । हामी आशावादी छौं यसतर्फ सरकारले समयमा नै निर्णय गर्ने छ ।
अहिले नेपालमा सञ्चालनमा रहेका सवारी साधनले एक दिनमा करिव आठ लाख यात्रुलाई पर्याप्त सेवा दिन सक्छन तर हामी संग यात्रा गर्ने यात्रुको संख्या सरदर एक लाखको हाराहारी मात्र रहेको छ । यात्रुको अभावकै कारण लामो रुटमा संचालन गर्ने सवारी साधनका धनीले महिनामा ३ पटक मात्र सन्चालन गरेर चित्त बुझाउनु परेको छ । आज भन्द करिव १५ बर्ष अघि काठमाण्डौ र बुटवल चल्ने बसले महिनामा १२ देखि १४ दिन सम्म संञ्चालन हुन पाउथ्यो थोरै बस हुदा दैनिक चल्न पाउनु र प्रयाप्त यात्रु पाउने अबस्था रहन्थ्यो तर आज महिनामा ३ पटक संञ्चालन गरेर बाकि समय ग्यारेजमा थन्काउनु परेको छ । यसले यातायात क्षेत्रमा लागेको लगानीले प्रतिफल दिन नसकने अबस्थाको स्पष्ट चित्रण गर्दछ । यस्तो अबस्था बिद्यमान हुदाहुदै पनि दैनिक जसो गाडि आयात गर्ने र ईजाजत दिने कार्यको अन्त्य हुन नसक्नु दुखद हो ।
हामीले यस बिषयमा पटक पटक आवाज उठाउदै आएका छौं भने यातायातका क्षेत्रमा देखिएका समस्या समाधानका लागि राज्यले मागेको समयमा राय सल्लाह दिदै आएका छौ । जसको पछिल्लो उदाहरणका लागि विज्ञान तथा प्राविधिक मन्त्रालयको अनुरोधमा सवारी साधनको आकाशिदो आयात नियन्त्रणका लागि प्रस्तुत प्रस्तावना २०७० पेश गरि सकेका छौं । भने स्थानिय तहमा सम्बन्धित निकायको माग गर्ने सल्लाह सुझाव प्रस्तुत गर्ने गरेका छौं ।
यातायात व्यवसायी मुख्य समस्या मध्ये दुर्घटना एक हो । नेपाल भू—वनोट तथा त्यसमा वनाइएका सबै सडक स्तरीय नहुँदा दुर्घटनाको सम्भावना प्रवल रहेको छ । हाम्रा साधनबाट कम भन्दा कम दुर्घटना होस् भन्ने उद्देश्यले दुर्घटना न्यूनिकरणका लागि सचेतना मूलक प्रशिक्षण कार्यक्रम संचालन गरेका छौं । जुन कार्यक्रमबाट यस संघ मातहत रहेका सवारीका साधनमा कार्यरत पँच हजार मजदुरलाई प्रशिक्षण दिएका छौं । जसबाट विगतका वर्षको तुलनामा दुर्घटना न्यूनिकरण भएको हाम्रो तथ्याङ्कले देखाउछ । थप दुर्घटना न्यूनिकरण गर्न चालकलाई प्रोत्साहित गर्न मजदुर कल्याण योजना प्रस्ताव गरेका छौं । यस संघ मातहतका व्यवसायीलाई सुरक्षित गर्न सके संघ सुरक्षित रहन्छ भन्ने तथ्य मनन गरी जुनसुकै कारणले व्यवसायीको मृत्यु भएमा कृया खर्च वापत रुं दुईलाख रुपैयाँ, अपरेशन गर्नुपर्ने विरामीलाई रु. पचास हजार रुपैयाँ तथा मुटु, कलेजो, फोक्सो, मृगौला लागाएतको उपचारका लागि भर्ना भै उपचार गरेको हकमा वर्षमा एक पटक पाउने गरी रु.२०,०००।– (अक्षरुपी विस हजार रुपैयाँ) सम्मको सहयोग दिदै आएका छौं । त्यसै गरि व्यवसायी सदस्य तथा यस संघका कर्मचारीका लागि रु.१०,००,०००।–(अक्षरुपी दशलाख रुपैया) वराबरको दुर्घटना विमा गरिएको व्यहोरा अनुरोध गर्दछु । यसका साथै संघले आगामी दिनमा एसि सहितको सव बाहन सञ्चालन गर्ने सोच बनाएको व्यहोरा यहाहरुका माझ अनुरोध गर्न चाहन्छु ।
हामीले बिगतदेखिनै लुम्विनी अञ्चलका ६ वटै जिल्लामा गतबर्षको प्रवेशिका परिक्षामा सामुदायिक बिद्यालयबाट उत्कृष्ट अंक ल्याई जिल्ला प्रथम हुने एक एक जना बिद्यार्थीलाई पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिएका छौं यसैगरी हामिलाई सदैव सूचना र सञ्चारको माध्यमबाट सकारात्मक सहयोग र रचनात्मक सुझाव दिने सञ्चारकर्मीहरु मध्ये प्रत्येक बर्ष एक जनालाई उत्कृष्ट यातायात समाचार सम्वाहक पुरस्कार दिने बिगतको निर्णयलाई निरन्तरता दिएका छौं भने यस बर्ष देखि सडक दुर्घटना र सवारी साधन एवं यातायात क्षेत्रका सन्दर्भमा अनुसन्धान गर्ने बिद्यार्थी सोधकर्ता र पत्रकारहरुका लागी प्रेरणा जगाउने ढंगले व्यवस्थापन गर्ने गरी सोच बनाएका छौं । यसका साथै उत्कृष्ठ चालकहरु छनौट गरी सम्मान तथा पुरस्कृत गर्ने कार्यलाई यस बर्ष पनि निरन्तरता दिएका छौ । जसवाट दुर्घटना न्यूनिकरणमा समेत महत्वपुर्ण सहयोग पुग्ने छ भन्नेमा हामी बिश्वस्त छौं । सम्मानीत र पुरस्कृत सवैलाई हार्दिक बधाई एव उत्तरोत्तर प्रगतिका शुभकामना व्यक्त गर्दछु ।
राष्ट्रको विकास र अग्रगति हामी सबैको विकास र अग्रगति हो । राष्ट्रको विकासमा सबैको सहयोग नितान्त आवश्यक छ । जुन रुपमा सहयोग उपलब्ध गराए पनि हुन्छ । त्यस अनुरुप राष्ट्रलाई अप्ठ्यारो पर्दा सहयोग गर्नु सबैको कर्तव्य पनि हो । गत वैशाख महिनामा गएको विनासकारी भूकम्पको कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल बसको कार्यकारीणी समितिको वैठक अनुसार काठमाण्डौबाट बाहिर आउन चाहने नागरिकका लागि अतिरिक्त शुल्क नलिईकनै सात सयवटा बस परिचालन गरियो । त्यस्ता बसलाई संघले लिने शुल्क समेत नलिई संचालन गरियो । यसका साथै राहतका लागि विभिन्न राजनैतिक दल संघ संस्थालाई आर्थिक एवं सवारी साधन उपलब्ध गराउने कार्य भयो भने संघका तर्फबाट प्रमुख जिल्ला अधिकारी मार्फत नगद एघार लाख एघार हजार एघार सय एघार रुपैया सहयोग गरिएको व्यहोरा अनुरोध छ ।
प्रमुख अतिथी ज्यु
यातायात क्षेत्रको सुधारमा राज्यको चासो र ध्यान नपुग्दा गाडि माफियाहरुको चंगुलमा फसेको छ । कतिपय माफिया र गाडि ब्यापारीहरु पुराना र थोत्रा सवारी साधन खरिद गरेर नया र पहाडी सडकहरुमा पठाएर सर्वसाधारणको ज्यान लिई रहेका छन त्यसको नियन्त्रण तत्काल आबश्यक छ । भुगोलका हिसावले घुमाउरा र उकाला सडकहरुमा त्यस्ता पुराना सवारी साधन तत्काल नियन्त्रण गर्न नसके धेरै सर्वसाधारणका लागी सवारी साधनको यात्रा यमपुरीको यात्रा हुने निश्चित छ । यसर्थ पश्चिम नेपाल बस ब्यबसायी संघको एउटै प्रस्ताव छ एक सवारी साधन बिस्थापन गरेर मात्र सोही प्रकृतीको अर्को सवारी साधन आयात गर्ने ब्यबस्था मिलाउने हो भने मात्र यात्रुले नया र स्तरीय सवारी साधनबाट यात्रा गर्ने अवसर प्राप्त गर्ने मात्र होईन अनाबश्यक रुपमा हुने सवारी साधनको आयतलाई न्युनिकरण गर्न सकिन्छ ।
सडकको बिस्तारले देश बिकासको ढोका खोल्ने निश्चत छ अझै पनि हप्ता दिन भन्दा बढी पैदल हिडेर सवारी साधनको मुख देख्ने नागरीकको संख्या हाम्रा सामु ठुलो छ । नेपालको अधिकांस भुभागका जनताले उपभोग गर्ने कुरा परै जावस सवारी साधनको मुख नै देख्न पाएका छैनन । आजपनि कष्टकर यात्रा गरेर आफ्नो मोटर हेर्ने र चढने रहर पुरा गर्न मात्र होईन दैनीक आबश्यक पर्ने नुन तेलको जोहो गर्न बाध्य छन । जसका कारण उनिहरुको दैनिकी अत्यन्तै महंगो र कष्टकर छ । ति क्षेत्रहरुमा सडक को बिस्तार गर्न सके ब्यबसायीले पनि यातायात क्षेत्रमा लगानी गर्न पाउने बतावरण तयार हुने सर्व साधारणले पनि सहज यात्रा गर्न पाउने बतावरण तयार हुन्छ भन्नेमा हामी आशावादी छौं ।
सवारी साधनबाट हुने बातावरण नियन्त्रण गर्ने तर्फ सरकारले ध्यान नदिने वा सवारी साधनको आयु कती बर्ष भन्ने स्पष्ट अवधि निर्धारण नगर्ने हो भने नेपालमा सवारी साधन कुनै बर्ष कम हुने छैनन नया थपिई रहने तर जती सुकेै पुराना भए पनि बिस्थापन नगर्ने हो भने यसले समाजमा कस्तो बिकराल रुप लेला सहज अनुमान गर्न सकिन्छ । यसले सर्वसाधारण यात्रुको यात्रा असुरक्षीत बनाउने निश्चित छ । यातायात ब्यबसायीलाई समाज प्रति जिम्मेवार बनाउन पनि सवारी साधन संचालन अवधि तोकी नया नया र स्तरिय मोडलका सवारी साधन खरिद गर्ने बातावरण तयार गरी ब्यबसायीलाई उत्साहि बनाउने दायित्वबाट बिमुख नहुन सरकार नेपालका जिम्मेवार राजनितीक दलका नेतागणहरु लगायत नागरीक समाज पत्रकार बुद्धिजीवी सवैमा हार्दिक अपिल गर्दै हाम्रो निमन्त्रणलाई सहर्ष स्वीकार गरी समय उपलब्ध गराई दिनु भएकोमा कृतज्ञता व्यक्त गर्दै आफ्ना भनाईहरु यहि अन्त्य गर्न चाहन्छु ।
धन्यवाद