भगवती पाण्डे
बुटवल, कार्तिक १९
यातायात व्यवसायीहरुको संस्था पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलले विहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको रक्तदान कार्यक्रममा ९९ जनाले रक्तदान गरेको संस्थाले जनाएको छ । व्यवसाय संचालन संगै सामाजिक क्षेत्रमा समेत योगदान पु¥याउंदै आएको संघले हरेक वर्ष अन्य कार्यक्रम संगै रक्तदान कार्यक्रम पनि संचालन गर्दै आएको छ ।
सवारी दुर्घटनामा पर्ने घाईतेहरुलाई सबैभन्दा धेरै रगतको आवश्यकता पर्ने भएको तथा कुनैपनि व्यक्तिले रगतको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले विगतका वर्षहरु जस्तै यसवर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष दधिराम खरेलले जानकारी दिनुभयो ।
संघ परिसरमा आयोजित उक्त कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिती सदस्य, कर्मचारी तथा यातायात व्यवसायीहरु गरी ९९ जनाले रक्तदान गरेको संघका महासचिव जिवन कुमार बञ्जाडेले जानकारी दिनुभयो ।
यसैविच संघले हालैमात्र लुम्बिनी अञ्चल प्रहरीको रुपमा जिम्मेवारी सम्हाल्नु भएका प्रहरी वरिष्ठ उपरिक्षक शेर बहादुर बस्नेत, लगायत पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी प्रमुख, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुखलाई स्वागत तथा सम्मान गरेको छ ।
संघको सचिवालयमा आयोजित रक्तदाता सम्मान कार्यक्रममा प्रहरी प्रमुखहरुलाई पनि स्वागत तथा सम्मान गरेको हो । स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रहरी वरिष्ठ उपरिक्षक बस्नेतले आफ्नो कार्यकालमा यस क्षेत्रको शान्ति सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउने दावी गर्नुभयो ।
उहांले नागरिक विना प्रहरीको एक्लो प्रयासले प्रहरीका कुनैपनि कार्य सफल हुन नसक्ने भन्दै नागरिकको सहयोगमा प्रहरीले आफ्नो कार्यलाई अघि बढाउने बताउनुभयो ।
सो अवसरमा संघका अध्यक्ष दधिराम खरेलले संघले व्यवसायीहरुको पक्षमा गरेका कामहरुको साथै सामाजिक क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
उहांले पछिल्लो केहि महिना यता तराईमा जारी बन्द तथा आन्दोलनका कारण यातायात क्षेत्र नराम्ररी प्रभावित भएको भन्दै यातायात क्षेत्रका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
संघका महासचिव जिवनकुमार बञ्जाडेको संचालन तथा वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेको स्वागतमा सम्पन्न भएको कार्यक्रममा सवारी दुर्घटनामा ज्यान गुमाएका सवारी धनीका परिवारलाई विमा वापतको १० लाख रुपैया वितरण गरिएको थियो ।
त्यस्तै पत्रकार महासंघ रुपन्देहीले स्थापना गर्न लागेको पत्रकार अक्षयकोषको लागि १ लाख एक हजार रुपैयाको चेक प्रदान गरिएको थियो । संघले यसअघि पत्रकार महासंघको उक्त अक्षयकोषलाई ७५ हजार रुपैया प्रदान गरिसकेको जनाएको छ ।