लुम्विनी असोज २५
रुपन्देहीको दक्षिणी लुम्बिनी क्षेत्रमा क्रियाशिल पत्रकार विन्दुकुमार चौहानलाई मातृशोक परेको छ । पत्रकार चौहानकी ६८ वर्षिय आमा कंग्रेसनी चौहानको सोमबार राती निधन भएको हो । बसको ठक्करबाट घाईते अवस्थामा उपचाररत चौहानको उपचारकै क्रममै युनिभर्सल मेडिकल कलेज भैरहवामा निधन भएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । साईकलको पछाडी बसेर यात्रा गरिरहेकी चौहानलाई लु. १ क १४९८ नं. को बसले गत असोज ५ गते लुम्बिनी क्षेत्रमा ठक्कर दिएको थियो । चौहानको मृत्युपछि प्रहरीले ठक्कर दिने उक्त बसलाई नियन्त्रणमा लिएको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरिक्षक दिलीप कुमार झाले नेपाल भारत सहयोगमा स्थानीय मदरसाका विद्यार्थीहरुलाई मदरसा ल्याउन लैजान प्रयोग भईरहेको उक्त बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रकृया अगाडी बढाईएको जानकारी दिनुभयो ।
पत्रकार चौहान डेढ दसकदेखि लुम्बिनी क्षेत्रबाट सक्रिय रुपमा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहनुभएको छ । पत्रकार चौहानको आमाको निधनप्रति यात्रा खवर डटकम तथा सुरक्षित यात्रा अभियान परिवार दुःख व्यक्त गर्दै मृतकको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।
यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका ४ लंकापुरमा दुईवटा मोटरसाईकल एकआपसमा ठक्कर खांदा चारजना घाईते भएका छन् ।
विपरित दिशातर्फ गईरहेका लु. ४ प ७२६ र लु. ११ प ९४७९ नं. का दुईवटा मोटरसाईकल एकआपसमा ठक्कर खांदा मोटरसाईकलमा सवार चारैजना घाईते भएका हुन् ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार दुर्घटनामा परि लुम्बिनी सांस्कृतिक नगरपालिका १ केवटोलिया बस्ने ३५ वर्षिय शिवशंकर यादव र ४५ वर्षिय काशि प्रसाद यादव तथा भैरहवाका ३५ वर्षिय वृजेश कुमार यादव र ५५ वर्षिय अनिल सर्राफ यादव घाईते भएका छन् । घाईते चारैजनाको भैरहवामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।