भगवती पाण्डे बुटवल, भदौ २५
क्षमताभन्दा बढी लोडका भारबाहक गाडी गुडाउँदा निर्माणाधीन रुपन्देहीको बेलहिया–बुटवल ६ लेन सडकको आयु सडक बनिनसक्दै भत्किन थालेको छ। ५० टन क्षमताको आधारमा निर्माण भइरहेको सडकमा १ सय टन भारसहितका गाडी गुडाउने गरेका कारण सडक बनेर नसकिँदै भत्केको बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले जनाएको छ।
बेलहियाबाट बुटवलसम्मको करिब २४ किलोमिटर सडकमा लुम्बिनी रोडमा रहेका उद्योग र बुटवल बेलहिया सडकखण्डको किनारमा रहेका फलाम उद्योगहरूले सडकको क्षमताभन्दा कैयौं गुणा बढी भार बोकेका कारण सडक बनेर हस्तान्तरण नहँुदै भत्किएको परियोजनाले गुनासो गरेको छ।
सडक ऐनले २ एक्सल भार भएको ६ चक्के गाडीले १६ हजार २ सय केजी (गाडी समेत), ३ वटा एक्सल भएको १० चक्के गाडीले २५ हजार केजी (गाडी समेत), ४ वटा एक्सल भएको १२ चक्के गाडीले ३१ हजार केजी (गाडी समेत), र ४ वटा एक्सल भएका १४ चक्के गाडीले ४० हजार २ सय केजी (गाडी समेत) गरी गुडाउने मापदण्ड तय गरेको भए तापनि यहाँ चल्ने गाडीहरूले १ सय टनसम्म अर्थात १ लाख केजीसम्म तौलका भार ढुवानी गर्ने गरेको पाइएको छ।
बुटवल बेलहिया सडकखण्डमा रहेका गोयन्का इन्फोटेक र एभरेष्ट रोलिङ मिलले लेखेको पत्रमा आफ्ना उद्योगको प्रवेशद्वारमा १ सय टन क्षमताका ट्रक प्रवेश गर्ने भएकोले सोही आधारमा प्रवेशद्वारमा कल्भर्ट निर्माणका लागि आग्रह गरेका छन्। ती उद्योगहरूले अहिले पनि १ सय टनभन्दा बढी भार बोक्ने गरेको उनीहरूले भेटिएको छ।
परियोजनका अनुसार बेलहिया बुटवल सडकखण्डको सडक डिजाईन गर्दा ५० टन क्षमताका आधारमा निर्माण भइरहेको छ। तर, सडकमा निर्वाध रुपमा १ सय टन क्षमताका गाडीहरू सोही बाराबरका भार बोकेर हिँडेपछि सडकको आयु खस्किने सम्भावना बढेको हो।
‘हामी पटक–पटक स्थानीय प्रशासनको रोहवरमा बैठक बसेर बढी भारका सवारीसाधन नगुडाउन आग्रह गर्यौं तर हाम्रो आग्रह सुन्ने र सडकबारे चिन्ता गर्नेभन्दा पनि व्यावसायिक संघ–संस्थाहरू समेत बढी भार बोक्न पाउनुपर्छ भन्नेमा देखिएपछि निर्णय पुस्तिकामा समेत मैले हस्ताक्षर नगरी हिँडे,’ परियोजनाका एक इन्जिनियरले भने।
परियोजनाले गत जेठ ३२ गते चनं ७५९ जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय रुपन्देही, र यातायात व्यवस्था कार्यालय लुम्बिनीलाई पत्र लेखी बेलहिया बुटवल सडकखण्ड निर्माणाधीन रहेको र सडकले १०.२ मेट्रिक टनभन्दा बढी भार थेग्न नसक्ने जनाउँदै बेलहिया नाकाबाट भित्रिने भारतीय गाडीले सडकले थेग्नै नसक्ने गरी भार बोकेर आउने गरेकोले सो नियन्त्रण तथा व्यवस्थापन गर्न आग्रह गरेको थियो।
तर, अहिले पनि भारतीय गाडी निर्वाध रुपले १ सय टन हाराहारी भार बोकेर भित्रिन्छन्। नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले सरकारी निकायको संरक्षणमा ओभरलोड बोकेर भारतीय गाडीहरू काठमाडौंसम्म पुग्ने गरेको र नवलपरासीको जयश्री पुल भत्किनुको प्रमुख कारण समेत भारतीय गाडी रहेको दावी गरे।
करोडौं रुपैयाँ खर्चिएर निर्माण गरिएका योजनाहरूमा क्षमताभन्दा बढी भार बोकेर निर्वाध गुड्ने मालबाहक साधनलाई नियन्त्रण गर्नेतर्फ सम्बन्धित निकाय पनि मौन बस्ने गरेको छ।
सेतोपाटीबाट