हेटौँडा, ४ जेठ ।
महेन्द्र राजमार्ग अन्तर्गत मनहरी–३ रमन्टारमा सोमबार दुर्घटना हुँदा नौको मृत्यु भएको छ । घटनास्थलमै ७ र बाँकी दुईको अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा २७ घाइते छन् ।
वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३६९७ नम्बरको बस अर्काे बसलाई उछिन्ने प्रयास गर्दा पल्टेको हो । बस पल्टने बित्तिकै अर्को दिशाबाट आइरहेको ना ४ ख ५७६५ नम्बर को ट्रकले बसलाई ठक्कर दिएको थियो । ठक्कर दिँदा बसमा सवार यात्रुको मृत्यु भएको हो ।
मृत्यु हुनेमध्ये चितवन वीरेन्द्रनगर–२ की ५२ वर्षीया योखा गुरुङ, नवलपरासी देवचुली–७ की २७ वर्षीया निशल गुरुङ र भारत पूर्वी चम्पारणका असलल् मियाँको मात्र परिचय खुलेको छ । अन्य मृतकको पहिचान हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक मोहन अधिकारीले बताए । दुर्घटनामा २७ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ७ को चितवन भरतपुरस्थित सरकारी अस्पतालमा, ७ को पुरानो मेडिकल कलेज भरतपुरमा र चारको मनहरीमै उपचार गरिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
हेटौँडादेखि नै प्रतिस्पर्धा गर्दै आइरहेका दुई बसमध्ये एउटा दुर्घटनामा परेको हो । अर्काे बसले उछिनेर गएपछि हत्तारिएर बसलाई उछिन्न खोज्दा ट्रक आएको देखेपछि चालकले आत्तिएर बस पल्टेको प्रत्यक्षदर्शीले बताए ।
बस पल्टिएपछि नियमित गतिमा रहेको ट्रकले जोगाउन खोज्दाखोज्दै नियन्त्रण गुमेपछि बसलाई ठक्कर दिएको प्रत्यक्षदर्शी सरस्वती परियारले बताइन् । पल्टेको बसलाई ट्रकले ठक्कर दिँदा बसको क्याबिन र ढोका छेउमा रहेका केही यात्रुको शरीरको अंग क्षत्विक्षत भएको थियो । घटनापछि बसका चालक फरार छन् भने ट्रक र ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी परिसरमा राखेको छ । घटनास्थलमा पल्टिएको बसमा अरु यात्रु किचिएको हुनसक्ने आशंकामा स्थानीय, प्रहरी, सशस्त्र प्रहरीले उद्धार गरेका थिए ।