काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले नेपालमै पहिलो पटक मोटर स्पोर्ट्सको गाइडलाइन र म्यानुअल तयार पारेको छ । अन्य खेल जस्तै अब अटोमोबाइल स्पोर्ट्समा पनि छुट्टै ऐन, नियम, विनियम बनेको र सोही आधारमा आगामी दिनमा यो खेल सम्बद्ध ¥याली, रेसिङ आदि आयोजना गरिने छ ।
उक्त गाइडलाइन तथा म्यानुअलमा विभिन्न प्रकारका अटोमोबाइल स्पोर्ट्सका लागि खेलाडी तथा अन्य विभिन्न पक्षले पालना गर्नुपर्ने नीति नियमका वारेमा विस्तृत रुपमा उल्लेख गरिएको छ ।
नासाको छुट्टै टिम, राष्ट्रिय खेलकुद परिषद तथा अन्तर्राष्ट्रिय बिज्ञ समेतको २ बर्षको तयारी पश्चात १ सय ४२ पेजको उक्त म्यानुअल प्राप्त गरिएको नासाले जनाएको छ । यसलाई सामान्य भाषामा मोटर स्पोर्ट्सको संविधान पनि भन्न सकिन्छ ।
संसारमा मोटर स्पोर्ट्सको इतिहास निकै नै पुरानो छ । नेपालमा अटोमोबाइल स्पोर्ट्सको इतिहास एक दशक पनि छैन । करिब ८ बर्ष अगाडि देखि प्रारम्भ भएको यो खेलमा कुनै निश्चित राष्ट्रिय नीति, नियम र पूर्वाधार हुने कुरा पनि भएन । यही कुरालाई मध्यनजर गरी यस प्रकारको गाइडलाइन र म्यानुअल तयार पारिएको बताइएको छ ।
Via:nepalauto