दिनेश पाण्डे
केहीबर्ष अघि नारायणगढ बाट काठमाण्डौतर्फ लागेको माईक्रोबस रामनगर पुगेर खाना खाएपछि नारायणगढ तर्फ नै फर्कियो कारण चालकले आफु कता जादै छु भन्ने नै होस गुमाए ।
यात्रुलाई खाना खान भन्दै होटल अगाडि गाडी खडा गरेर आफुपनि खाना खान भित्र छिरेका चालकले यात्रुले चालै नपाउने गरी मादक पदार्थ तिनिक्कै तन्काएछन् । चलाख यात्रुले ट्राफिक प्रहरीलाई खवर गरे जसले गर्दा ठुलो दुर्घटनाबाट जोगीयो ।
त्यसका एक भुक्तमान यात्रु भन्छन् यदि गाडी नारायणगढ नर्फकेको भए हामी सायद त्रिसुलीमा पुग्थ्यौं ।
त्यो एउटा संयोग हो काठमाण्डौ तर्फ नै लागेको भए हामीले उनले मादक पदार्थ सेवन गरेको नै थाह पाउदैनथ्यौं एकै पटक दुर्घटनामा परिन्थ्यो होला ।
यातायात व्यवसायीहरु भन्छन् एकाध बाहेक अहिले सम्म त्यस्तो यात्रु हामीले पाएका छैनौ जसले चालकले गरेको लापरवाहीको सुचना तत्काल हामीलाई देओस जसका कारण अगाडि हुन सक्ने मानविय क्षती रोक्न सकियोस ।
केवल यात्रुका यस्तै गुनासा हुन्छन् समयमा गाडि हिडाएन, २ घण्टाको बाटोमा ४ घण्टा लगायो, महिलाको सिटमा पुरुषलाई बसाल्यो, तोकिए भन्दा बढी भाडा लियो, एउटै सिटमा २ जनालाई टिकट दियो । जुन यात्रुको जिवन जानसक्ने खतरासंग सम्वन्ध राख्दैनन् ।
तर यातायात व्यवसायीहरुलाई खवर गरेर के गर्ने उनिहरु मजदुरकै पक्षमा लाग्छन भन्ने यात्रुहरुको बुझाईले पनि यसलाई बल दिएको छ । यसको मतलव केहो भने यात्रुहरुलाई यातायात व्यवसायीहरुले अझैपनि मन जित्न सकेका छैनन् ।
सरसर्ती हेर्दा दुर्घटनाको प्रमुख दोषी सवारी चालक र प्रमुख कारणको रुपमा मादक तथा लागु पदार्थको सेवन, सवारीको गति र सडक अनुशासनलाई लिने गरीन्छ तर सवारी दुर्घटनाको प्रमुख कारण सरोकारवाला सवै पक्षको लापरवाही हो ।
सवारी चालकले सवारी चलाउदा, सवारी साधनका धनीले मर्मतमा, टाफिक प्रहरीले कर्तब्य पालनमा र राज्यका निती निर्माताले त्यसको कार्यान्वयन, सडक निर्माण र मर्मतमा गरीने लापरवाही जस्ता कारण नै सवारी दुर्घटनाको मुल कारण हो ।
साच्चै सरोकारवालाहरुले लापरवाही नगर्ने हो भने दुर्घटना न्युनिकरण गर्न सकिन्छ । बिगतमा सार्वजनीक सवारी साधन सञ्चालन गर्ने चालकको न्युनतम उमेर बढाउनु पर्ने, सार्वजनीक सवारी साधन चलाउने चालकको न्युनतम योग्यता र सवारी चालक अनुमती पत्र बितरण प्रणाली बैज्ञानीक हुनुपर्ने भन्ने बिषयमा धेरै बहस र छलफल भए नियमावली तयार भए तर यातायात सम्वद्ध मजदुर संगठनहरुको दवावका कारण कार्यान्वयनमा समस्या उत्पन्न भएको छ । मानिसको जिवनसंग राजनीत गर्ने यस्तै घृणीत कार्यले नेपालको राजमार्ग मृत्युमार्ग बनेको छ ।
बिश्वमा मोटर चल्न थालेको १ सय २७ बर्ष पछि अर्थात सन् १८९६ अगस्ट १७ मा भएको दुर्घटना नै पहिलो सडक दुर्घटना मानिन्छ जुन दुर्घटनामा एकजनाको ज्यान गएको थियो । सडक दुर्घटनाको हाल सम्म प्राप्त रेकर्ड अनुसार त्यो दुर्घटना नै सवारी दुर्घटनाबाट व्यक्तिको मृत्यु भएको पहिलो थियो । तर आजको अवस्था अत्यन्त फरक छ हरेक ६ सेकेण्डमा सडक दुर्घटनामा मानिसले ज्यान गुमाएका छन् । बिकासको गति जति तिब्र रुपमा बढिरहेको छ, त्यो भन्दा पनि द्रुत गतिमा सवारी दुर्घटनाको क्रम बढिरहेको छ । वास्तवमा भन्ने हो भने हामीले सुबिधाका लागी प्रयोगमा ल्याएका सवारी साधनहरु आफ्नै मृत्युको कारण बनेर हाम्रा सामु उभिएका छन् ।
बिश्वका कुनैपनि मुलुक सवारी दुर्घटनाको पीडाबाट मुक्त छैनन् सबैभन्दा बढि सवारी साधन भएको देश होस् वा कम सवारी साधन भएको । सबैभन्दा बढि जनसंख्या भएको देश चिन होस् या कम जनसंख्या भएको नउरु, या आर्थिक र भौतिक बिकासले फड्को मारेको नर्वे होस् जुनसुकै देशमा पनि दुर्घटनाको अवस्था भयावह छ ।
जुनसुकै देशले पनि दुर्घटनालाई अत्यन्त पीडादायक घटनाका रुपमा लिने गरेको भएता पनि यसको बृद्धिदर प्रत्येक बर्ष आकासिदै गएको छ । मानिसको मृत्यु, गम्भिर घाईते वा सामान्य घाईते र सवारी साधनको क्षति नै सवारी दुर्घटनाबाट हुने क्षति हो । सवारी साधनका सञ्चालक वा सडक दुर्घटनामा ज्यान गुमाउनेको परिवार वा घाइतेमा होस सवारी दुर्घटनाको असर दिर्घकाल सम्म रहिरहन्छ ।
तर कुनैपनि दुर्घटनाको पिडित परिवार यो बिषय कोट्याउनै चाहदैन बरु खाटा लागेको घाउ कोट्याएको ठान्छ । त्यसकारण पनि सडक दुर्घटना बिरुद्धको अभियानमा दुर्घटना पीडित परिवारलाई सहभागी बनाएर अभियान थाल्ने धेरै प्रयत्नहरु असफल भएका छन् ।
बिकसित मुलुकहरुले सवारी दुर्घटनालाई राष्ट्रको बिकासमा प्रत्यक्ष असर पार्ने बिषयबस्तुको रुपमा हेर्ने गरेका छन् भने अल्पबिकसित मुलुकहरुले सवारी दुर्घटनाको गाम्भिर्यतालाई बुझ्न सकेका छैनन् । त्यो उनिहरुको कमजोर आर्थिक अवस्थाको कारण उत्पन्न समस्या पनि हो । नेपालको सन्दर्भमा हेर्ने हो भने सवारी दुर्घटनाबाट चाहे सवारी साधनका यात्रु होस, चाहे सवारी साधनमा लगानी गर्ने लगानीकर्ता होस, चाहे निती निर्माताहरु हुन्, दुर्घटनाले कसैलाई पनि छोड्दैन जसको पनि ज्यान लिन्छ भन्ने कुरा बुझ्न सकेका छैनन् । फरक यत्ति छ बिकसित मुलकमा समयमा उद्दार उपचार पाउदा धेरैले मृत्युको मुखबाट फर्किने अवसर पाएका छन् तर अल्पबिकसीत वा बिकासोन्मुख मुलकका नागरीक भने समयमा उद्दार र उपचारबाट बञ्चित हुदा अकालमा ज्यान गुमाउनु परेको छ ।
विश्वमा प्रत्येक बर्ष सवारी दुर्घटनाबाट ५१८ विलियन अमेरिकी डलर वरावरको क्षती भएको बिश्व स्वास्थ्य संगठनको तथ्याङकबाट देखिन्छ, । जुन प्रत्येक राष्ट्रको ग्राहस्थ उत्पादनको १–३ प्रतिशत हुन आउछ यसले कतिपय देशको विकाश बजेटलाई नै नकारात्मक प्रभाव पारेको छ । बिकासमा लगाउनु पर्ने बजेट दुर्घटनाबाट हुने क्षतीमा खर्च हुदा मुलुकको समग्र आर्थिक र सामाजिक बिकासमा स्वभाबिक रुपमा क्षती पुग्न जान्छ । सडक दुर्घटनाको न्युनिकरणका लागि ठोस निति अपनाउन नसके हाम्रो मुलकुले दुर्घटनाको भयावह अवस्था र त्यसवाट श्रृजीत आर्थिक संकटकोे सामना गर्न तयार हुनुपर्छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्दा प्रत्येक बर्ष १२ लाख ७० हजार मानिसको सवारी दुर्घटनाबाट मृत्यु हुने र ५ करोड भन्दावढी व्यक्ति प्रत्येक वर्ष सवारी दुर्घटनाबाट घाईते भएको पाईन्छ । ९० प्रतिशत भन्दाबढी मृत्यु हुनेहरु कम तथा मध्यम आय भएका राष्ट्रका नागरीकहरु रहेको पाईन्छ । यसका साथै सडक दुर्घटनामा मृत्यु हुनेहरुमा पनि बढी मात्रामा पैदल यात्री र मोटरसाईकलका प्रयोगकर्ता १६ देखि ३५ बषर््ँ उमेर समुहका युवा नै देखिएका छन् ।
सडक दुर्घटनामा ज्यान गुमाउने मध्ये करिव १४ प्रतिशत अर्थात झण्डै २ लाख मृत्यु बालबालिकाको छ भने सडक दुर्घटनाबाट ६० प्रतिशत भन्दाबढी बालवालिका प्रभावित हुने गरेका छन् । जसको सवारी साधनसंग कुनै साईनो नै छैन तिनीहरुले नै सवैभन्दा बढी सवारी दुर्घटनाका कारण ज्यान गुमाउनु पर्दाको पीडालाई हामी जिम्मेवारहरुले बोध गर्नुपर्छ । ट्राफिक प्रहरीले ट्राफिक सप्ताहका रुपमा मनाउदा बालवालिकहरुको अत्याधिक प्रयोग हुन्थ्यो । र त्यसबाट समेत वालवालिकाहरुले सडकमा कसरी सुरक्ष्ँित यात्रा गर्ने बिषयमा ज्ञान लिन्थे तर पछिल्लो समय त्यो कार्यक्रम समेत हराउदै गएको छ ।
बिशेष गरेर मोटरसाइकल चलाउने युवाहरु सवारी दुर्घटनामा पर्ने र ज्यान गुमाउनेको सुचीमा पर्ने गरेका छन् । मादक पदार्थको सेवन, मोवाईल फोनको प्रयोग, अनियन्त्रित गति, अहमताको भावना, खतरा मोल्ने प्रवृत्तिका कारण सडकमा ज्यान गुमाउने युवाहरुको संख्या ठुलो छ । त्यसकारण यो पुस्तालाई घर, समाज, शिक्षण संस्था, साथीभाई र स्थानिय सरकारी संयन्त्रबाट समेतबाट नियन्त्रण एवं अनुगमन गर्नु आवश्यक छ ।
बिश्वका अन्य मुलुकहरु २०२० सम्म दुर्घटनालाई आधा कम गर्ने अभियानमा सक्रिय छन् । संयुक्त राष्टसंघको नेतृत्वमा शुरु गरीएको यो अभियानलाई नेपालले आत्मसात गर्ने जनाएको भएपनि अहिले सम्म कुनै कार्ययोजना तथा तयारी गर्ने संकेत देखिएको छैन । यो अवस्था बिद्यमान रहीरहे २०२० सम्ममा नेपालले ८३ प्रतिशत दुर्घटना बढेको अवस्थालाई स्वीकार्नु पर्ने छ । सवारी संख्याको बृद्धिदर र सवारी दुर्घटनाको वृद्धि दरले पनि यस कुरालाई प्रष्ट्याएको छ ।
संयुक्त राष्ट्रसंघले सडकलाई सुरक्षित बनाउन सबै राष्टहरुलाई सडक सुरक्षाको यथोचित व्यवस्थापन, सुरक्षित सडक, सुरक्षित सडक प्रयोगकर्ता, सुरक्षित सवारी साधन र दुर्घटना पछिको उद्धार जस्ता महत्वपुर्ण ५ ब“ुदे आधार स्तम्भ तयार गरेर सोही अनुसार दुर्घटना न्युनिकरणको अभियानमा लाग्न र आम नागरीकको ज्यान बचाउने कार्यमा लाग्न अपिल गरेको थियो । तर नेपालका जिम्मेवार र सरोकारवालाहरु कानमा तेल हालेर बसेका छन् ।
सडक दुर्घटना नयुनिकरण गराउनमा डाईभिङ्क प्रशिक्षण केन्द्रहरुको समेत महत्वपुर्ण भुमिका हुन्छ भन्ने कुरा बुझाउन सकिएको छैन । डाईभिङ्क प्रशिक्षण केन्द्रहरुको स्तरीयकरण र बैज्ञानिकरणमा राज्यको ध्यान जान सकेको छैन ।
दुई लाख रुपैयामै पुराना सवारी साधन खरिद पछि प्रशिक्षण केन्द्र सञ्चालन हुन्छ । प्रशिक्षण मैदान भनेको सार्वजनीक र व्यस्त राजमार्ग हो । त्यो मात्र होईन ६० प्रतिशत प्रशिक्षण केन्द्र झोलामा राखेर त्यसका सञ्चालकहरु यातायात व्यवस्था कार्यालय वरीपरी दलालको रुपमा घुमी रहन्छन् । न राज्यको अनुगमन छ न व्यवसायीले आफुलाई सच्याउने तर्फ सोचेका छन् । प्रशिक्षण केन्द्रमा भर्ना हुने कसैले पनि प्रशिक्षण अवधी कती हो भनेर प्रश्न गर्दैन, कति दिनमा लाईसेन्स पाईन्छ भन्ने प्रश्न गर्छ । सबैको ध्यान केवल लाईसेन्समा मात्र केन्द्रित हुन्छ ।
.
नेपालमा दैनिक ५ देखी ६ जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको नेपाल प्रहरीको अभिलेखबाट देखिन्छ । नेपालमा भएका सडक दुर्घटनामा बर्षेनी करिव ८ हजार मानिस घाईते वा अंगभंग भएर जिवन गुजारी रहेका छन् । कतिपय सामान्य प्रकृतिका दुर्घटनाका पीडितहरु प्रहरीको सम्पर्कमा नै पुग्दैनन् ।
प्रहरीकोमा जानु झन्झट सम्झिन्छन् । गाउ गाउमा सडक पुर्याउनुलाई मात्रै बिकास मान्ने हाम्रो मानसिकता र सडक बिस्तारका नाममा भु धरातलको अवस्थाको अध्ययन बिना अवैज्ञानीक ढंगले सडक निर्माण गर्ने कार्य अहिले हाम्रो समाजमा व्याप्त छ । जस्तो सुकै खतरा होस हामीलाई घर अगाडि गाडि गुडाउनु परेको छ । तसर्थ सडक खनेर नभ्याउदै सवारी सञ्चालन गर्न दवाव दिने हाम्रो समाज । आफुले सडक बनाउन मात्र होइन सवारी चलाउन पनि प्रमुख भुमिका खेलेको हुं भनेर चुनावी नारा बनाउन लालायीत हाम्रो राजनितीक नेतृत्व पनि पछिल्लो समयमा भएका सवारी दुर्घटनाको दोषी छ ।
एउटै दुर्घटनाले ३०÷४० जना यात्रुको एउटै चिहान बनेका थुप्रै घटनाहरु छन् । केहिबर्ष अघि प्युठानको गर्जेनीमा भएको जन्तीबस दुर्घटना (दुलाहा सहित ४२ जना), सिन्धुलीको चर्चित बस दुर्घटना (४१ जना),र गत बर्षको मंसिर महिनामा भेरी नदिमा भएको यात्रुबस दुर्घटना (५५ जना), रसुवामा भएको यात्रुवाहक बस दुर्घटना (३६ जना,……गतबर्ष पनि सोही सडकमा दुर्घटना हुदा ठुलो जनधनको क्षती भएको थियो) नेपालका हरेक नागरीकको मुटु हल्लाउने दुर्घटना हुन् । हामीकहा एउटै दुर्घटनाका कारण १०÷१२ घण्टा सडक अवरोध हुदा यात्रु सडकमा बिचल्लीमा परेका थुप्रै उदाहरणहरु छन् । दिनहु सडक दुर्घटना भईरहेको छ चासो कसैलाई छैन बर्षौदेखि हामी एउटै कुरा भनिरहेका छौं सडक दुर्घटनाले नेपालमा बर्षेनी सयौंको ज्यान जान्छ । सडक दुर्घटनाबारे अध्ययन गर्न बनेका कार्यदलहरु समेत घटनाको पुर्ण अध्यायन गर्न नपाउदै हराउछन् । माथि उल्लेखित दुर्घटना अध्ययन गर्न बनेका कार्यदलहरु समेत त्यस्तै भए ।
नेपालको दुर्घटनाको बिश्लेषण गर्दा दुर्घटनाका घटना तराई र सहरी क्षेत्रमा बढी छन् भने ग्रामीण र पहाडी क्षेत्रमा कम । तर यी क्षेत्रहरुमा हुने दुर्घटनामा हुने मृत्युको बिश्लेषण गर्दा ग्रामीण र पहाडी सडकमा कयौ बढी हुने गर्छ भने सहरी र तराई क्षेत्रमा कम । पहाडी सडकहरुमा हुने एउटै दुर्घटनामा दर्जनौ हताहती भएका थुप्रै घटनाहरु छन । यी घटनाहरुले पनि नेपालमा ट्रमा सेन्टर नहुनु मृत्युको अर्को कारण हो भन्न सकिन्छ । यसर्थ मुलुकका महत्वपुर्ण केही सहरहरुमा सम्भव भए सम्म राज्यले सम्भव नभए निजी क्षेत्रलाई नै यस्ता अस्पताल सञ्चालन गर्न प्रेरीत गर्नु आवश्यक छ । जसवाट दुर्घटना हुनासाथ उद्धार हुने र यथसक्य छिटो उपचार पाउने बातावरण बन्ने छ । सडक दुर्घटनाहरुको सुक्ष्म अध्यायनले सडक दुर्घटनाका कारण भन्दा पनि दुर्घटना पछि समयमा उद्दार र उपचार नपाउदा धेरै यात्रु अकाल मृत्युवरणका लागी बाध्य छन । यसर्थ सवारी साधनका चालक परिचालकहरुलाई प्राथमिक उपचारवारे सामान्य ज्ञान हुनु आवश्यक छ । यसले सामान्य दुर्घटनामा पनि हुने अत्याधिक रक्तश्रावबाट हुने मृत्युलाई कमगर्न र स्पाईनल ईन्जुरीको समस्यालाई न्युनिकरण गर्न सहज हुने देखिन्छ ।
हामी भन्छौ सडक दुर्घटनाको अनुसन्धान फितलो छ । तर अनुसन्धानलाई सडक दुर्घटनाका पीडित पक्षहरुबाटै सहयोग गरेको पाईदैन । हरेक पटक हुने दुर्घटनाका बखत पिडित पक्ष र सरोकारवालामा तात्कालिक चासो र आक्रोस हुन्छ । तर ९९ प्रतिशत घटनामा राहत र क्षतीपुर्ति हात परेपछि न पिडित पक्षले चासो दिएका छन् नत राज्यले त्यसबारेको आफ्नो प्रतिबद्धता पुरागर्ने तर्फ सोच राख्छ । कतिपय पिडित परिवारले त मुद्दा कहा पुग्यो चालक कता छ फेरि सवारी हाकेर आफैलाई बोकेर हिडेको छ कि त्यसबारे पनि थाहा पाउदैन । सडक दुर्घटनाको अनुसन्धान पनि काम चलाउ र द्धिविधायुक्त प्रकृतीको छ । सडकमा कुनै संयन्त्र पनि छैन जसले दुर्घटनाका कारणहरुको सम्भावना देखाओस । दुर्घटना पश्चात पुगेको ट्राफिक प्रहरीले गर्ने स्केच घटनास्थल प्रकृती मुचुल्का,सवारी साधनको स्कीडमार्क र प्रत्यक्षदर्शीहरुको भनाई नै नेपालमा अनुसन्धानको मुख्य आधार हो । कतिपय अवस्थामा घटनाका पीडित पक्षबाट लिईने भनाई अनुसंधानको स्वतन्त्र र निष्पक्षतामा आशंंका हुनु स्वभाविक छ । दुर्घटनाको स्केच गर्ने ट्राफिक प्रहरी मुचुल्का उठाउने जनपथ प्रहरी,मुद्धा चलाउने जनपथ प्रहरी र सवारी चालक अनुमती पत्र वितरण गर्ने यातायात व्यवस्था कार्यालय हुदा पनि यी तिन निकाय विचमा हुने सामान्य मतभेद र समन्वयको अभावमा घटनाको निस्पक्ष र प्रभावकारी अनुसन्धान हुन सकेको छैन की भन्ने आशंका उठनु स्वभाविक हो । केहि समय अघि प्रयोगमा ल्याईएको रडारगन पनि प्रभावकारी हुन नसकेको मात्र होईन दूरुपयोग भएको गुनासो समेत आयो जसले तिव्रगतीमा हने दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्थ्यो । त्यसका साथै दुर्घटना न्युनिकरणमा सफलता हासिल गरेको अभियान मादक पदार्थ सेवन गरी सवारी हाक्ने बिरुद्धको अभियान हो त्यो अभियानलाई जे जस्तो सुकै अवस्था आए पनि निरन्तरता दिनु आबश्यक छ ।
सवारी दुर्घटना संग सम्वन्धित प्रत्यक्ष सरोकार राख्ने संघ संस्थाहरु,अस्पताल,सडक विभाग,यातायात ब्यबसायी र प्रहरीलाई मुख्य मानिएता पनि यससंग सम्वन्धित काम कारवाही यातायात ब्यबसायीहरु संगको अनुकलताका आधारमा वा उनिहरुसंगको सहकार्यमा ट्राफिक प्रहरीबाट मात्र भएको पाईन्छ । त्यसै कारण पनि नेपालमा यातायात ब्यबस्थापनको जिम्मेवारी पाएको ट्राफिक प्रहरी कामचलाउ प्रकृतीको छ । बिना पुर्वाधार र श्रोत साधनको अभावका बिच सडकमा खटिने ट्राफिक प्रहरीबाट हाम्रो समाजले ठुलो अपेक्षा राखेको छ । हरेक प्रहरी कर्मचारी माथीको आदेश बमोजीम बढी भन्दा बढी राजस्व संकलनमा सक्रिय रहन्छ, त्यो उसको बाध्यता हो । उसको कामको मुल्यांकन वा सक्रियता उसले उठाउने राजस्वका आधारमा हुने हुदा पनि धेरै राजस्व उठाएको देखाउने सक्रियता मात्र उसको सडक सक्रियता हुन्छ । एकातर्फ राजस्व उठाएर सक्रियता देखाउनुपर्ने बाध्यता अर्कोतर्फ सडकमा नियम उल्लंघन गर्ने चालक, परिचालक वा ब्यबसायीबाट सहयोग लिएर कार्यालय चलाउनु पर्ने बाध्यताका बिच पिल्सिएको ट्राफिक प्रहरी लाई रुपान्तरण गर्ने बातावरण तयार नभएसम्म सडक दुर्घटनाको न्युनिकरणको अपेक्षा गर्नुको कुनै अर्थ रहदैन .
journaldinesh@gmail.com
लेखक सुरक्षित यात्रा अभियान नेपालका सचिव हुन