कार्तिक ३०, काठमाडौं –
काठमाडौं उपत्यकामा संचालित साझा बसमा अब स्मार्ट ट्राभल कार्डको प्रयोग गर्न सकिने भएको छ । साझाले नेपालमै पहिलो पटक यात्रुहरुलाई लक्षित गर्दै स्मार्ट कार्डको थालनी गरेको छ । अब बसमा चढ्दा पैसा बोक्नु पर्ने छैन । अब स्मार्ट कार्डबाटै पैसा तिर्न सकिने छ ।
आज साझा यातायातको पुल्चोकमा अवस्थित कार्यालयमा एक कार्यक्रमका बीच स्मार्ट कार्डको उद्घाटन तथा परीक्षण गरिएको छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित, नेपाल बैंकका सिइओ सुमनलाल प्रधान र भारतीय नुस्पेका सिइओ हर्मित सिंह सेठीले संयूक्त रुपमा उक्त स्मार्ट कार्डको उद्घाटन गरेका हुन् । नेपाल बैंकको सहकार्य र भारतीय कम्पनी नुस्पेको प्राविधिक सहयोगमा यो कार्डको थालनी गरिएको हो ।
सो अवसरमा साझा यातायातका अध्यक्ष दीक्षितले नेपालमा नयाँ प्रविधिको सुरुवात गरिएको जानकारी दिँदै नेपालको प्रविधि क्षेत्रमा नौलो आयाम थपिएको उल्लेख गरे ।
नुस्पेका सिइओ सेठीले अन्य विकसित देशहरुमा पनि यो प्रविधि प्रचलनमा रहेको र नेपालमा पनि यसको सुरुवात गराउन पाउँदा आफूलाई खुसी लागेको बताए ।
त्यस्तै नेपाल बैंकका सिइओ प्रधानले यातायातका क्षेत्रमा थपिएको नयाँ प्रविधि अन्य क्षेत्रले पनि अवलम्वन गर्न सक्ने धारणा राखे ।
नयाँ बसपार्क–नारायणगोपालचोक–लगनखेल रुटमा चल्ने बा १ ख २२१७ नं.को बसबाट थालनी गरिएको यो परीक्षणको केही साताभित्रै अन्य साझाका सबै बसहरुमा थालनी गरिने साझाका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार अबको केही समयमै १६ वटै बसहरुमा यो प्रविधि प्रयोग गरिनेछ।
नयाँ बसपार्क–नारायणगोपाल चोक–लाजिम्पाट–शहिदगेट– त्रिपुरेश्वर–लगनखेल रुटमा १० वटा साझा बसहरु संचालनमा छन् भने एयरपोर्ट–गौशाला–शहिदगेट–त्रिपुरेश्वर–कालिमाटी–कलंकी रुटमा ६ वटा बसहरु संचालनमा छन् ।
उक्त स्मार्ट कार्डको मूल्य २ सय रुपैयाँ तोकिएको छ । यसमा ५० रुपैयाँ ब्यालेन्स हुन्छ । यसका लागि उपभोक्ताले कुनै बैंकिङ खाता खोल्नु पर्दैन । रकम सकिएपछि हाल प्रचलनमा रहेको मोवाइल रिचार्ज कार्ड कोरेर मोवाइलमा व्यालेन्स हालेजस्तैगरी कार्डमा रकम थप्न सकिनेछ ।
यदि बीचमा कार्ड हराएमा भने त्यति नै रकम खर्चिएर नयाँ कार्ड बनाउनुपर्छ । हराएको कार्ड भने अन्य जो कोहीले प्रयोग गर्न सक्छन् । साझा बसमा चढ्दा पछाडिको ढोकामा राखिएको डिभाइसमा कार्ड देखाउने र झर्दा अगाडिको ढोकानजिकको डिभाइसमा कार्ड देखाएपछि यात्रा गरेको दुरीअनुसारको भाडा कार्डमार्फत काटिनेछ ।