धनगढी,
सुदूरपश्चिमको समग्र विकासमा महत्व राख्ने निर्माणाधीन सेती लोकमार्ग सडक सात वर्षको अवधिमा सात किलोमिटर मात्रै कालोपत्रे गरिएको छ ।
कैलालीको टीकापुरबाट निर्माण थालिएको यो सडक यस अवधिमा बझाङ्को चैनपुरसम्म गरी कुल ४५ किलोमिटर लामो भागमा ‘ट्र्याक‘ खोल्ने काम पूरा भएको छ । रेखाङ्कन गरिएको कैलालीको टीकापुरबाट बौनियासम्मको सात किलोमिटर लामो भागमा मात्रै सेती लोकमार्ग सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको हो ।
सेती लोकमार्ग निर्माण आयोजनाका प्रमुख अमृतमणि रिमालले चालु वर्षमा बझाङ्ग र अछाम जिल्लामा निर्माण कार्य केन्द्रीत गरिएको बताए। यी दुवै जिल्लामा गरी तीन ‘प्याकेज‘मा सेती लोकमार्ग निर्माणका लागि तीनवटा निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ ।
यसवर्ष अछामको साँफेबाट बैजनाथसम्मको झण्डै अढाइ किलोमिटरमा कालोपत्रे, अछामकै चित्रेबाट लोडघाटसम्मको १२ किलोमिटरमा तथा बझाङ्गको टमेलबजारदेखि १५ किलोमिटर भागमा ट्र्याक खोल्ने काम गर्न लागिएको आयोजनाका प्रमुख रिमालले बताउनुभयो । यसका लागि चालु वर्षमा रु १४ करोड ३४ लाख बजेट विनियोजन भएको बताइएको छ।
कैलालीको बौनियादेखि चुरे पहाडतर्फको भागमा जङ्गल परेकाले तत्काल सडक निर्माणको काम रोकिएको बताइएको छ । जङ्गल क्षेत्रको वातावरणीय प्रभाव मूल्याङकन (इआइए) गरिसकेपछि मात्र सडक निर्माण गरिने हुँदा यसको स्वीकृतिका लागि वन मन्त्रालयसँग पत्राचार गरिएको छ ।
सेती लोकमार्ग निर्माण कार्य यसअघिसम्म सुदूरपश्चिममा रहेका सडक डिभिजन कार्यालयमार्फत हुँदै आएकामा गएको असोजदेखि अछामको साँफेमा सेती लोकमार्गको कार्यालय स्थापना गरी कार्यालयमार्फत् निर्माणको कार्य भइरहेको छ ।
आर्थिक वर्ष २०६५÷६६ बाट यो राजमार्गको निर्माण कार्य सुरु गरिएको हो । सुदूरपश्चिमको समग्र विकासमा महत्वूर्ण मानिने यो सेती लोकमार्ग सडक कैलालीको टीकापुरबाट डोटी, अछाम, बझाङ्ग हुँदै नेपाल—चीनको सीमा क्षेत्र ताक्लाकोटसम्म झण्डै ३०० किलोमिटर लामो रहेको छ ।
कैलाली जिल्लाको हकमा यो राजमार्गको रेखाङ्कन आफुखुसी गरेर शक्ति र पहँुचको बलमा नेताहरुले आ–आफ्नो क्षेत्रबाट रेखाङ्कन गरी बाङ्गोटिङ्गो बनाइएको भन्दै बौनिया क्षेत्रका बासिन्दाले विरोध गरेका छन् ।
नयाँ नक्शाङ्कन गरिएबमोजिम टीकापुर नजिकको दुर्गौलीबाट प्रतापपुर, लोहागाड, बेलुवा हुँदै सडकपुर बौनियासम्म यो सडक निर्माण हुनुपर्ने माग सेती लोकमार्ग सुधार सङ्घर्ष समितिले राख्दै आएको छ ।
मागको सुनुवाइ नगरी पहुँच पुगेकाको बलमा पूर्व—पश्चिम राजमार्गको समानान्तर हुने गरी सेती लोकमार्ग सडक निर्माण गर्नुको औचित्य नहुने सङ्घर्ष समितिका अध्यक्ष वीरबहादुर हमाल बताउँछन्।
आयोजना प्रमुख रिमालले भने आफू आयोजनामा भरखरै आएकोले विवादबारे जानकारी नभएको बताए। रासस