बिक्रम संवत २०७२ ले विदा लिदै गर्दा नेपाली सञ्चार माध्यममा एउटा खबर जताततै छाएको देखियो । धेरै सञ्चार माध्यमले ‘नेपाली ड्राइभरलाई पहिलो अन्तर्राष्ट्रिय सफलता’ भन्ने समाचार प्रस्तुत गरेका थिए । समाचारको केन्द्रमा सौरभमान श्रेष्ठ थिए ।
बंगलादेशको ढाकामा सम्पन्न ¥यालीक्रस च्याम्पियनसिपमा उनको जोडीले तेस्रो स्थान हासिल गरेको थियो । टोयोटाका कार हाँकेका सौरभमान श्रेष्ठ र समग्र नेपालकै लागि विदेशी भुमिमा तेस्रो स्थान हासिल गर्नु पनि गौरवको कुरा थियो । यो समाचार पछि सौरभको चर्चा नेपाली मोटर स्पोर्ट्स पारखीहरु माझ थप बाक्लिएको छ ।
यद्यपि सौरभमान श्रेष्ठको नाम मोटर स्पोर्ट्सको क्षेत्रमा पहिले पनि सुनिएकै हो । नासाले आयोजना गरेको २५० सिसीको रेसमान्डु २ नोभिस समूहमा उनी विजेता बनेका थिए । सन् २०१४ मा सम्पन्न रेसमान्डुको सो दोस्रो संस्करण चल्दै गर्दा उनी भने पहिलो पटक यस प्रकारको प्रतियोगितामा भाग लिएका थिए । यो वाहेक उनी अन्य विभिन्न स्पोर्ट्स गतिविधिमा पनि संलग्न भइरहेका हुन्थे ।
काठमाडौंकै स्थानीय वासिन्दा भएकाले सौरभले सानै उमेरमा मोटर र मोटरसाइकल जस्ता सवारी साधनको संगत गर्न पाए ।
उनलाई सम्झना भएसम्म चार बर्षको उमेरमै मोटर र मोटरसाइकलको पहिलो अनुभव गर्न पाएका थिए । ५ बर्षको उमेरमै कार हाँक्न प्रयास गरेको पनि उनलाई थाहा छ । यही रहर नै अहिले सम्म पनि कायम छ । उनी जता गए पनि मोटर र मोटरसाइकल जस्ता अटोमोबाइल स्पोर्ट्सका लागि प्रयास गरिरहेका हुन्छन् ।
सौरभले यस प्रकारको स्पोर्ट्सका लागि विभिन्न प्रकारको तालिम पनि लिएका छन् । उनले सन् २०१४ मा चीनको बेइजिङमा एफआईए इन्स्टिच्युट योङ ड्राइभर एक्सिलेन्स एकेडेमीमा रोड सेफ्टी सम्बन्धी तालिम लिएका छन् ।
त्यसैगरी २०१५ मा अष्ट्रेलियाको क्याम्सले आयोजना गरेको योङ ड्राइभर एक्सिलेन्स तालिम समेत लिएका छन् । त्यसैगरी सन् २०१५ मा मलेसियामा गो–कार्ट तालिम पनि लिएका छन् ।
सधै एउटा राम्रो रेसर बन्ने सपना देख्ने गरेका सौरभको जीवनको लक्ष्य फर्मुला फोरमा भाग लिनु हो । उनी कुनै पनि फर्मुला सिरिजका रेसिङमा भाग लिन चाहन्छन् र यसका लागि आवेदन दिन चाहन्छन् ।
यद्यपि मोटर स्पोर्ट्स र रेसिङलाई दुरुपयोग गर्न नहुने उनको तर्क छ । कुनै पनि स्टन्ट तथा रेसिङ कार्य खुला सडकमा देखाइने कार्य होइन भन्ने उनको तर्क छ । यसका लागि निश्चित ट्रयाक वा स्थान तोकिएको हुन्छ । आवश्यक राइडिङ गियर र अन्य सुरक्षित संयन्त्रको प्रयोग गरेर मात्र यसको उपयोग गर्नुपर्छ ।
मोटर स्पोर्ट्सबाट कुनै पनि ब्यक्तिले फाइदा वा बेफाइदा के हुन्छ भनेर सोच्नु आवश्यक छैन । यो त कुनै पनि ब्यक्तिमा भएको एउटा लगाव हो । यसका लागि आवश्यक सीप चाहिन्छ र मनमा एउटा सपना हुनुपर्छ । यो एउटा महंगो खेल पनि हो । आफूमा भएको लगाव र मेहनतलाई उपयोग गरेरै अगाडि बढ्नु पर्छ र यसका लागि कसैले सहयोग गरिदेला भन्ने सोचाइ राख्नु हुदैन भन्ने सौरभको मान्यता छ ।
प्रस्तुति : एकराज सुवेदी