भगवती पाण्डे बुटवल, असार १४
असारको गर्मी। बाहिर करिब ४० डिग्री सूर्यको ताप छ। त्यसमाथि पाकेको अलकत्राको राप टिप्परमा ल्याउँदै गर्दा १४९ डिग्री थियो, घटेर १२० डिग्री भएछ। थर्ममिटरबाट तापक्रम नापिरहेका ल्याब टेक्निसियन युवराज तिमिल्सेनाले तापक्रम केही घटेको संकेत गरे।
‘यस्तो तापक्रममा रोलर चढाउनु हुँदैन सडक बिग्रिन्छ। ८० डिग्री तापक्रममा झर्नु पर्छ’ उनले भने । तर केही किशोरी निर्धक्क अलकत्रा बटुलेर हिँडिरहेका छन्। नपुगेको ठाउँमा थप्छन् बढी भएको ठाउँबाट निकाल्छन् र रोलर मेसिनका लागी काम गर्ने वातावरण बनाई दिन्छन्।
उनीहरुले तयार गरेको सडकलाई चिल्लो बनाउने र बलियो बनाउन थिच्ने काम मात्र रोलरको हो। बेलहिया बुटवल व्यापारिक मार्ग निर्माण गरिरहेका यिनीहरु दैनिक करिब १२ सय देखि १६ सय स्क्वायर मिटरसम्म कालोपत्रे गर्ने काम गर्छन्।
कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाकी सुनिता थारु (क), सिता थारु, पुष्पा थारु, मनिषा थारु (क), मनिषा थारु (ख), गुडिया थारु, मन्जु थारु र सुनिता थारु (ख) अहिले बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाको काममा खटिएका छन्। सबैको उमेर उस्तै छ मुस्किलले केहिले १८ टेकेका छन्। कोही भने भर्खर १६ पुग्दै। कानुन भन्छ यो उमेर काममा लगाउने उमेर होइन। उनीहरुलाई पनि थाहा रहेछ यो उमेरमा काम गर्न मिल्दैन। मञ्जु भन्छिन् ‘काम गर्न मिल्दैन भनेर के गर्नु घर पनि त चल्नु प¥यो पढ्ने उमेरमा काम गर्नु हाम्रो बाध्यता हो।’
फोटो खिच्न खोज्दा उनीहरु लजाए। ‘नखिचांै भो यस्तो फोहर कपडामा।’ फोटो खिच्न पनि फकाउनै प¥यो। टिम लिडरको आग्रहमा मात्र फोटो खिच्न तयार भए तर घुम्टो निकालेनन्। कुरा गर्न खोज्दा तर्किए।
सडक कालोपत्रे गर्न पकाईएको अलकत्राको १४० डिग्री तापक्रमको रापमा मुख जोगाउन ढाकेको पछ्यौरीकै भित्रबाट आवाज निकाले, ‘फोटो खिचेर के फाइदा हुन्छ र ? हाम्रो काम फोटोले गर्दैन। हाम्रो फोटो हजुरले खिचेपनि हामीले पाउदैनौं।’
यी किशोरीले करोडांैका गाडी गुड्ने सडक चिल्लो पार्दैछन्। आगोको रापमा पाकेको अलकत्रामाथि बसेर। यो उनीहरुको दैनिकी हो। रापबाट शरिरलाई जोगाउन खुट्टामा कपडाका हरिया जुता, कुर्ता सुरुवाल र पातलो पछ्यौरीले अनुहार छोपेका छन्। सुनिता थारु भनिन् ‘हामीले बनाएको सडकमा कोही पनि नपल्टोस, मुसुक्क हाँसेर उनले थपिन् ‘हामीले यस्तो रापमा काम गरेका छौं।’ दिउसोको टन्टलापुर घाममा बेल्चाले अलकत्रा उठाउदै गरेकी मनिषाले भनिन्– हामी पनि सरर गुड्ने हो।
यस्तो गर्मीको मौसम अलकत्राको राप तर पनि पानी प्रशस्त पिउँदैनन्। कारण सिधा छ– धेरै पानी पिएपछि पटकपटक शौचालय जानुपर्छ। खुल्ला सडक त्यसैमाथि महिला, शौचालय लाग्यो भने कहां जानु? त्यसको एकमात्र उपाय हो पानी कम पिउनु। ‘ठाउँ छैन कहाँ जान, त्यसैले पानी खानै मन लाग्दैन। अलिअलि मात्रै खाइन्छ।’ उनीहरू सबैको एउटै गुनासो छ। दिनभर पुरुष सरह काम गर्छन् तर महिला भएकैले शौचालयको समस्या थपियो। शौचालय नहुँदा तिर्खा लागे पनि खटाउनु पर्ने विवशता।
सामान्य अवस्थामा पनि दैनिक ५ लिटर पानि पिउनु स्वस्थ्यका लागि आवश्यक छ। तर यिनीहरु यसरी काममा खटिदा पनि पानीबाट टाढै रहन खोज्छन्। महिनावारीको समयमा त कुरै नगरौं, झनै समस्या। बिहान सात नबज्दै शुरु हुने काम दिउसो ११ बजेमात्र दिउँसोको खाना खान २ घण्टा विश्राम हुन्छ।
निर्माण कम्पनीको भट्टीमा १८० डिग्री तापक्रममा पाकेर शंकरनगर ल्याइएको अलकत्रा मेसिनले सडकमा खसाल्नासाथ सन्तुलन मिलाउने उनीहरुको नियमित काम हो। ४ वर्षदेखि काम गरेका उनीहरुको ज्याला अहिले ४ सय पुगेको छ।
निर्माण कम्पनीका टिम लिडर सागर चौधरी भन्छन् ‘दिनमा ३ पटक खाना खान दिन्छौं वर्षौंदेखि उनीहरु यसरी नै काम गर्दै आएका छन्। बिहान ७ बजे देखि साँझ कहिलेकाहीँ ८ भन्दा बढी हुन्छ।’ मौसम हेरेर काम सक्काउनु पर्ने भएकोले राति पनि काम गर्नुपर्ने सागरले बताए। पाकेको अलकत्राको रापमा सडकमा काम गर्नु उनीहरुको रहर होइन। जहाँजहाँ सडक बन्ने काम हुन्छ उनीहरुको हजुरबाहरुले समेत त्यसरी नै काम गरे। शर्मा, लामा, कान्छाराम जेभीमा उनीहरुको यो तेश्रो पुस्ता हो।
आयोजनाका इन्जिनियर लिला भण्डारी भन्छन् ‘यिनीहरु सडक निर्माणमा तेश्रो पुस्ताका रहेछन्। जो कसैले यो तापमा टिक्न सक्दैन, यिनीहरु आफ्नो काम बुझेर गर्छन्। यिनका बावु बाजेले काम गरे पनि यिनीहरुलाई लाउन खान पुग्ने गरी कमाएका रहेनछन्।’
युवा अवस्थाको जोश, मेहनत, काम फटाफट गर्ने नठग्ने र काम नबिगार्ने भएकोले यिनीहरु कम्पनीको रोजाईमा छन्। सागर चौधरी भन्छन् ‘अलकत्राको मात्रा समेत यिनीहरुले मिलाउन सक्छन्। काम पाको गरी गर्छन।’ यीमध्ये कसैले विद्यालय देखेका छैनन् भने कसैले ५ कक्षासम्म पढेका छन्। उनीहरु सबैलाई लाग्छ– पढ्न पाइएन यस्तै काम गरेर ज्यान पालेका छौं। अब हामी सधैँ सडकमै त होला। खेती गरेर खान जग्गा जमिन छैन, नपढेको मान्छेलाई जागिर कहा पाइएला र ?
दिनभरि अलकत्राको ठेला र बेल्चा चलाउँदै गर्दा उनीहरुलाई भविष्यको पनि चिन्ता लाग्छ रे। छोरी मान्छे हो आज नभए भोलि अर्काको घर त जानै पर्छ। जीवनसाथी कस्तो पर्ला उनीहरुले त्यो सबै भाग्यलाई जिम्मा दिएको बताउँछन्। ‘भाग्यमा जे छ त्यही भोग्ने त होला, पढेको मान्छेले हामीलाई कहाँ बिहे गर्लान् र खोई। पढेको नपाए यस्तै काम गर्नेसँग बिहे गर्ने त होला,’ मनिषाले भनिन्।
सेतोपाटिबाट